
मकवानपुर, असार ५ गते । मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयले मकैको समर्थन मूल्य तोकेको छ । बकैया गाउँपालिका भित्रका किसानले उत्पादन गरेको मकै बकैया औद्योगिक ग्रामले खरिद गर्नेगरी न्यूनतम समर्थन मूल्य गाउँपालिको कार्यपालिकाको बैठकले निर्णय गरेर तोकेको हो ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले किसानले मकै खेतीमा भएको लागतको अनुपातमा मूल्य नपाएपछि न्यूनतम समर्थन मूल्य ताकेको जानकाररी दिनुभयो । उहाँले भन्नुभयो, ‘किसानले मकै खेतीमा गरेको लगानीको अनुपातमा उत्पादित मकै बिक्री गर्दा न्यून मूल्य प्राप्त गरिरहेको अवस्थामा गाउँपालिकाका किसानको आर्थिक हित अभिवृद्धिको लागि कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो ।’
निर्णयानुसार पालिका भित्रका किसानले उत्पादन गरेको मकैको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपियाँ तोकिएको छ । गाउँपालिका भित्रका किसानले समर्थन मूल्यभन्दा कम मूल्य प्राप्त गर्ने अवस्थामा गाउँपालिकाबाट उक्त समर्थन मूल्यमा मकै खरिद गर्ने उहाँले बताउनुभयो ।
आफूले बिक्री गर्न चाहेको सुकेको मकैको परिमाण खुलाइ गाउँपालिका भित्रका किसानको पहिचान खुल्ने नागरिकताको प्रतिलिपि संलग्न गरी बकैया औद्योगिक ग्राममा निवेदन पेश दिने सकिने उहाँका भनाइ छ ।
पालिकाद्वारा सञ्चालित औद्योगिक ग्रामले प्रतिकेजी ४५–४६ रुपियाँमा खरिद गर्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो । किसानहरु प्रतिकेजी २८ रुपियाँमा बजारमा बिक्री गर्न बाध्य छन् ।
पालिकाले औद्योगिक ग्रामसम्म ल्याउने गरी राम्रोसँग सुकेको र सफा मकै खरिद गरिने भएको छ । पालिकाको निर्णयले मकै उत्पादक किसान लाभान्वित हुने पालिका अध्यक्ष लामिछानेले बताउनुभयो ।









