
काठमाडौँ, जेठ १४ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट) सफलतापूर्वक आरोहण गर्ने २६ देशका १७६ जना आरोहीहरूलाई २०८३-०२-१३ मा आयोजित दोस्रो संस्करणको ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ मा सम्मान गरिएको थियाे।

नेपाल एभरेष्ट एलायन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा २६ देशका १७६ जना सगरमाथा आरोहीलाई विशेष पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।

आरोहीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (NATTA) का अध्यक्ष कुमारमणि थपलिया तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (TAAN) का अध्यक्ष सागर पाण्डे लगायतले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ संकल्पको प्रशंसा गरे। उनले सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए।

वरिष्ठ पर्वतारोही तथा सेवन समिट ट्रेक्सका निर्देशक मिङ्मा शेर्पाले नेपालको हिमालहरूले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको बताए। उनले पर्वतारोहण क्षेत्रमा शेर्पा गाइडहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा सगरमाथा ३२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका कामी रिता शेर्पा, सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला लाक्पा शेर्पा तथा विभिन्न देशका आरोहीहरूलाई विशेष सम्मान गरिएको थियो।

यसै कार्यक्रममा सहभागी भई राष्ट्रपति रामचन्द्र पौडेलले ‘ब्रेकफास्ट विथ एभरेष्ट समिटियर्स’ कार्यक्रममा सहभागी भई आरोहीहरूसँग भेटघाट गरेका थिए।


















