
राजविराज, वैशाख २४ गते । सप्तरी प्रहरीले अभद्र व्यवहार तथा सवारी ज्यान कसूरसम्बन्धी मुद्दामा तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका –१ भारदहका ३६ वर्षीय दिनेश मण्डल र ३१ वर्षीय अनिल माझीलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो।
गत वैशाख २२ गते राति भारदह चोकमा मधेश प्रदेश ०३–००२ ख २३७४ नम्बरको एसी एयर बसलाई रोकी उनीहरूले मदिरा सेवन गरी बस चालकसँग विवाद गरी हातपात गरेका थिए। प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार प्रतिवादीहरूले हेल्मेट प्रयोग गरी बसमा तोडफोड गर्नुका साथै चालक र सहचालकमाथि अश्लील शब्द प्रयोग गर्दै हातपात समेत गरेका थिए।
घटनापछि बस चालक राजेशप्रसाद ढुंगानाको जाहेरीका आधारमा अभद्र व्यवहार मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ६ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।
यस्तै, सवारी ज्यान कसूर मुद्दामा महदेवा गाउँपालिका –४ निवासी २२ वर्षीय विक्रमराज सुक्लालाई पक्राउ गरिएको छ। वैशाख २२ गते दिउँसो सप्तकोशी नगरपालिका–१ गोलचोकस्थित फत्तेपुर–कञ्चनपुर सडकखण्डमा बा ५८ प २०२८ नम्बरको मोटरसाइकलले सप्तकोशी नगरपालिका–९ पाटनटोल निवासी करिब ७४ वर्षीय मिश्रीलाल खंगलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका खंगलाई प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जनाउनुभयो। घटनापछि पुनित खंगको जाहेरीका आधारमा सवारी ज्यान कसूर मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उहाँले जानकारी दिनुभयो।


















