
काठमाडौँ, चैत २४ गते । पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ ।
नेपाल आयल निगमका अनुसार विभिन्न शीर्षकमा गरेर प्रतिलिटर पेट्रोलमा ६५ रुपियाँ ८४ पैसा, डिजेलमा ४८ रुपियाँ ३५ पैसा, मटितेलमा ३३ रुपियाँ ९३ पैसा र हवाई इन्धन ३४ रुपियाँ ११ पैसा तथा खाना पकाउने एलपिजी ग्यास प्रतिसिलिन्डरमा २८७ रुपियाँ ३१ पैसा कर रहेको छ ।
बजारमा प्रतिलिटर पेट्रोलको मूल्य २०२ रुपियाँ र डिजेल लिटरमा १८२ रुपियाँ रहेको छ । इन्धनको मूल्य बढ्दा त्यसको असर हरेक क्षेत्रमा परेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले पेट्रोलियम पदार्थको मूल्य बढेर जनजीवन प्रभावित भएका बेला इन्धनमा लगाइएको उच्च करका कारण थप महँगो परेकाले तत्कालका लागि कम गरेर उपभोक्तालाई राहत दिनुपर्ने बताउनुभयो । इन्धनको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश क्षेत्रमा असर पर्ने परेकाले पनि सरकार राजस्वमुखी नभएर उपभोक्तामुखी हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन आयात गरेबापत भन्सारविन्दुमै सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेकाले खपत कम गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो ।
छयासी अर्ब राजस्व सङ्कलन
पेट्रोलियम पदार्थको कारोबारबाट पौने एक खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म एक खर्ब ७७ अर्ब १२ करोड रुपियाँको इन्धन आयात हुँदा ८६ अर्ब ५८ करोड रुपियाँ राजस्व सङ्कलन भएको आयल निगमले जनाएको छ ।
निगमका अनुसार साउनदेखि फागुनसम्म भन्सार शुल्कबापत २८ अर्ब १२ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत ३२ अर्ब नौ करोड, सडक मर्मत शुल्कबापत चार अर्ब ७३ करोड र वातावरण खर्चबापत दुई अर्ब ३६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करबापत १५ अर्ब ७० करोड, हरित करबापत एक अर्ब ५७ करोड र आय करबाट एक अर्ब रुपियाँ सङ्कलन भएको छ ।
प्रतिलिटर पेट्रोलमा भन्सार शुल्क २५ रुपियाँ २० पैसा, पूर्वाधार कर १० रुपियाँ, हरित कर एक रुपियाँ, सडक मर्मत शुल्क चार रुपियाँ र प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा रहेको छ ।
यस्तै प्रतिलिटर डिजेलमा भन्सार शुल्क १२ रुपियाँ, हरित कर एक रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, सडक मर्मत शुल्क दुई रुपियाँ, हरित कर एक रुपियाँ र वातावरण प्रदूषण शुल्क एक रुपियाँ ५० पैसा कर रहेको छ ।
निगमका अनुसार अहिले प्रतिलिटर पेट्रोलको खरिद मूल्य १५३ रपियाँ ७८ पैसा रहेको छ । यस्तै डिजेल प्रतिलिटर २४२ रुपियाँ ४९ पैसा, मटितेल १९७, हवाई इन्धन आन्तरिक प्रतिलिटर २१३ रुपियाँ रहेको छ । ग्यास प्रतिसिलिन्डर एक हजार ६९० रुपियाँ रहेको छ ।
पछिल्लो तीन हप्ताको अवधिमा पेट्रोल लिटरमा ४० रुपियाँ, डिजेल ४५ रुपियाँ र हवाई इन्धन लिटरमा १२४ रुपियाँ मूल्य बढेको छ । निरन्तर मूल्य बढेर आए पनि सो मूल्य अनुसार समायोजन नहुँदा पेट्रोल लिटरमा ३४ रुपियाँ ३६ पैसा, डिजेल लिटरमा १२० रुपियाँ ५४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डरमा ४१६ रुपियाँ घाटा रहेको निगमले जनाएको छ ।
सरकारले इन्धनको खपत कम गर्न शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल २५ लाख लिटर र डिजेल ५० लाख लिटर खपत हुने गरेको छ ।





