
काठमाडौँ, चैत ११ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका २, भाचेमा सडक फराकिलो बनाउनका लागि ढुङ्गा फुटाउने क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् ।
बुधबार बिहान खुदी-घनपोखरा-नाँयु सडकअन्तर्गत सडक फराकिलो गर्ने क्रममा चट्टानको पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार ढुङ्गा फुटाउने क्रममा एक्स्काभेटरमाथि पहरा खसेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले सडक फराकिलो बनाउनको लागि ढुङ्गा फुटाउने क्रममा पहिरो खस्दा चालक च्यापिएको बताउनुभयो ।
पहिरोले पुरिएर मृत्यु भएका करिब ३०९३२ वर्षका युवकको पहिचान खुल्न बाँकी रहेको बस्नेतले बताउनुभयो ।त्यही रहेको अर्को सानो मेसिनले निकाल्न नसकेपछि ठुलो एक्स्काभेटर पठाइएको डीएसपी बस्नेतले बताउनुभयो ।
सडक बनाउने निर्माण व्यवसायी पोखराबाट आएपछि मात्रै मृतकको पहिचान खुल्ने प्रहरीले जनाएको छ ।





