
काठमाडौँ, फागुन १९ गते । जेनजी आन्दोलनका विषय समेटिएको सौन्दर्यविद् सुषमा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ ।
जेनजी आन्दोलनका तीन परिवार उदयपुरकी अम्बिका विश्वकर्मा (बानेश्वर संसद् भवनअगाडि श्रीमान् गुमाइन्), कीर्तिपुरका विष्णुबहादुर तामाङ (बुद्धिबहादुर तामाङका बुवा) र पार्वती अधिकारी (आन्दोलनमा आफ्ना छोरा गुमाइन्) को उपस्थितिमा गीत सार्वजनिक गरिएको हो ।
गायक सत्यराज आचार्यको स्वर, सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको यस गीतले राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटेको छ । शक्तिप्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ ।
विशेष गरी आन्दोलनका क्रममा सडकमा छाडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा प्रतिकका रूपमा प्रयोग गरिएको छ । राजेश घिमिरेको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको गीतले विविधतामा एकता र देश सुधारका लागि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ ।





