
काठमाडौँ, फागुन १३ गते । चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । चलचित्रले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख छ हजार ९६९ रुपियाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । चलचित्रमा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय रहेको छ छ । चलचित्रको कथा र निर्देशन चन्द्र पन्तको रहेको छ । अभिमन्यु नीरवीद्वारा लिखित संवादमा अमर न्यौपानेले सहकार्य गर्नुभएको छ । चलचित्रलाई नवराज उप्रेतीले खिच्नुभएको हो ।
यसै गरी फागुन १ गतेबाट एकसाथ प्रदर्शनमा आएका तीन चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो : दी होम कलिङ’ र ‘शिवांश’ सोचे जस्तो चल्न सकेनन् । रमेश कोइरालाद्वारा निर्देशित चलचित्र ‘बिगुल’ ले बक्सअफिसमा आठ लाख ९७ हजार ४१० रुपियाँ ग्रस कलेक्सन गरेको छ । समसामयिक राजनीतिक मुद्दामा केन्द्रित कांग्रेस नेता दिनेश कोइराला निर्माता रहनुभएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह र सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ ।
‘शिवांश’ ले दुई लाख ६१ हजार रुपियाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्याङ्कमा उल्लेख छ । भगवान् शिवको पौराणिक कथावस्तुमा आधारित रहेको चलचित्रमा प्रवीण खतिवडा मुख्य भूमिकामा देखिनुभएको छ । अन्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रमा तेज गिरी र रुषा न्यौपानेको पनि अभिनय रहेको छ ।
‘श्री बुकुरो’ ले दुई लाख ७२ हजार ग्रस कलेक्सन गरेको छ । सुदीपभूपाल सिंहको लेखन तथा निर्देशन रहेको चलचित्रा विशुद्ध पारिवारिक कथामा आधारित छ । चलचित्रमा अभिनेतृ लक्ष्मी गिरीको शीर्ष भूमिका रहेको छ भने आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, राजन ईशान, लय सङ्ग्रौला र मोहन निरौलालगायतको अभिनय छ ।





