काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को तालिकाअनुसार आयरल्यान्ड उल्भससँगको खेलपछि नेपालको सन् २०२३–२४ को क्यालेन्डर पूरा हुने थियो । भारतको गुजरातमा केही समय तयारी गरेपछि नेपाली टोलीको पालो थियो ओमानमा एसिया कप छनोट अनि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेल्ने ।
आयरल्यान्ड उल्भसको नामले खेलिरहेको आयरल्यान्ड ‘ए’ सँग नेपालले दुई खेल खेलेको थियो । दोस्रो खेलपछि नेपालका तत्कालीन प्रशिक्षक मोन्टी देसाईलाई प्रश्न सोधिएको थियो, ‘क्यान क्यालेन्डरअनुसार घरेलु मैदानमा नेपालको सबै प्रतियोगिता सकिएका छन्, एसिया कप छनोट र विश्वकपजस्ता दुई प्रमुख प्रतियोगिता खेल्नुअघि नेपालको तयारी कस्तो भएजस्तो लाग्छ ?’
मोन्टीले त्यही एउटा ‘ब्रेकिङ न्युज’ फालिहाले, ‘एसिया कप खेल्न जानु अघि अझ एउटा ठूलो शृंखला हुनसक्छ, तर त्यो निश्चित हुन बाँकी छ ।’ सबै अनुमानतिर लागे । धेरैले अफगानिस्तान, आयरल्यान्डको नाम लिए । तर अन्त्यमा क्यानले पुष्टि गर्यो, वेस्ट इन्डिज ‘ए’ को नेपाल भ्रमणमा पाँच ट्वान्टी–२० खेल हुने । वेस्ट इन्डिजसँग नेपाली क्रिकेटको सम्बन्धको यो पहिलो ड्राफ्ट जस्तै रह्यो ।
शारजहाँमा तीन ट्वान्टी–२० शृंखला खेलेपछि नेपाल र वेस्ट इन्डिजको क्रिकेट सम्बन्धमा पुनः नवीकरण हुनेछ । नेपालले वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यो शृंखला महत्व यत्तिमै सीमित छैन । नेपालले आईसीसीबाट मान्यता पूर्ण राष्ट्रसँग खेल्न लागेको यो पहिलो शृंखला हो ।
गत वर्ष वैशाखमा रोस्टन चेजको नेतृत्वमा ५ खेलको ट्वान्टी–२० शृंखला खेल्न नेपाल आएको वेस्ट इन्डिज ‘ए’ टोली पनि कम्तीको थिएन । वेस्ट इन्डिजले शृंखला ३–२ ले जित्यो । नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेलमा ४७ बलमै शतक बनाएपछि नेपालले २ सय ५ रनको लक्ष्य पूरा गरेको थियो । कप्तान चेजसहित जोहनसन चार्ल्स र गुडाकेश मोटीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाएका थिए । सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले नेपालको विश्वकप टोलीमा स्थान पाएका थिए ।
झन्डै ९ हजार माइल दुरीमा रहेका नेपाल र वेस्ट इन्डिजको सम्बन्ध जोड्ने दूतमा तत्कालीन प्रशिक्षक मोन्टी पनि एक हुन् । २०२३ को फेब्रुअरीमा मोन्टी नेपालको प्रशिक्षक भएर आए । त्यसअघि मोन्टी दुई वर्ष वेस्ट इन्डिजकै ब्याटिङ परामर्शदाता थिए । वेस्ट इन्डिज ‘ए’ को टोली काठमाडौं आउँदा मोन्टी आफ्नो पुरानै टोलीसँग झुम्मिएका भेटिन्थे । लाग्थ्यो, उनको नेपालसँग जत्तिको प्रेम वेस्ट इन्डिजको टोलीमा पनि थियो ।
मोन्टीकै प्रशिक्षणमा नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । नेपाल त्यो ट्वान्टी विश्वकप खेल्न वेस्ट इन्डिजको टापु सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्स पुगेको थियो । पहिलो दुई खेल अमेरिकामा खेलेको अवस्थामा सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँगको अन्तिम दुई खेलमा घरेलु समर्थकले नेपालको पक्षमा बलियो समर्थन गरेका थिए । दुवै खेलमा विजय नजिक पुगेर नेपाल विमुख भयो ।
वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप खेल्दा नेपालले विदेशी भूमिमा खेलेजस्तो अनुभूत गर्नु नपरेको एउटा कारण रोडी इस्टविक थिए । बार्बाडोसबाट घरेलु क्रिकेट खेलेका इस्टविक एक समय मोन्टीसँगै वेस्ट इन्डिजकै प्रशिक्षण टोलीमा थिए । उनी क्यारेबियन टोलीको बलिङ प्रशिक्षक रहे ।
नेपाली टोलीका वर्तमान प्रशिक्षक स्टुवार्ट ल वेस्ट इन्डिजको प्रशिक्षक रहेको धेरै भएको छैन । हालै नेपाली टोलीको स्कटल्यान्ड भ्रमण दौरान स्टुवार्ट भन्दै थिए, ‘म पुराना टोलीका खेलाडी र पदाधिकारी भेट्न आतुर छु । नेपालका लागि यो ऐतिहासिक शृंखला हो, किनभने वेस्ट इन्डिज दुई पटकको ट्वान्टी–२० विश्वकप च्याम्पियन पनि हो ।’
नेपाल २०१५ मा विश्व क्रिकेट लिग २ खेल्न नामिबिया पुगेको थियो । विन्डहोक पुग्नुअघि नेपाली टोलीको तयारी दक्षिण अफ्रिकामा थियो । संयोगले वेस्ट इन्डिज पनि त्यतिबेला त्यहीं थियो । एउटा सपिङ मलमा नेपाली टोलीको जम्काभेट वेस्ट इन्डिजका केही खेलाडीसँग भयो । नेपाली खेलाडीले उनीहरूसँग फोटो खिच्ने मौका छुटाएनन् । होचो कदका भुवन कार्कीले निकै अग्ला जेसन होल्डरसँग खिचेको फोटो ‘आइकोनिक’ जस्तै बन्यो ।
नियमित कप्तान साई होपलगायतका खेलाडी नेपालसँग शनिबार सुरु हुने ट्वान्टी–२० शृंखलामा अनुपस्थित रहे पनि अकेल हुसैनको कप्तानीमा रहेको वेस्ट इन्डिज टोलीमा अनुभवी होल्डरसहित फाबियन एलेन, कायल मेयर्सजस्ता खेलाडी छन् ।
वेस्ट इन्डिजका खेलाडीले गत वर्ष पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा राम्रै प्रभाव देखाए । कर्णाली याक्सबाट विकेटकिपर/ब्याटर चाडविक वाल्टन, लुम्बिनी लायन्सबाट देव्रहाते तीब्र बलर रेमोन रोमारियो सिमोन्ड्स, पोखरा एभेन्जर्सबाट अलराउन्डर रेमोन्ड रिफरले खेलेका थिए । आफ्नो टोलीका लागि यी सवै खेलाडीले उच्च प्रदर्शन दिएका थिए ।
एनपीएलकै लागि विश्व क्रिकेटका महान खेलाडी वेस्ट इन्डिजका ब्रायन लारा नेपाल आएका थिए । उनले एनपीएल नेपाली क्रिकेटको ठूलो सम्भावना भएको उजागर गरेका थिए । लारा नेपाली क्रिकेटसँग नजिकिएको यो पहिलो अवसर भने थिएन । सन् २०१३ मा नेपाल विश्व क्रिकेट लिग संरचनामा रहेको समयमा लाराले बर्मुडामा नेपाल र युगान्डाबीच डिभिजन ३ को फाइनल हेरेर आफू नेपाली टोलीबाट प्रभावित रहेको बताएका थिए ।
उनै लाराले बुधबार क्यानको सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले सुन्दर देश नेपालको भ्रमण गरेको एक वर्षमात्र भयो । नेपालको क्रिकेट छोटो समयमा निकै माथि आइरहेको छ । अब नेपाल र वेस्ट इन्डिजले खेल्दै छ । मैले कसलाई समर्थन गर्ने अन्योलमा छु । किनभने म नेपाललाई माया गर्छु । नेपाली टोलीलाई राम्रो खेल्न शुभकामना दिन चाहन्छु । उदीयमान राष्ट्रले ठूलो राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको छ । हामीलाई थाहा छ, नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैले पनि यो शृंखला हेर्ने छु ।’