एस् ए टी भी १७ असार, काठमाडौँः सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूलनहरअन्तर्गत रहेको ‘गुरुवागाउँ शाखानहर’ परीक्षण गरिएको छ। बाँकेको बैजनाथ गाउँपालिका–५ बाट सुरु भएको उक्त शाखानहरमा सोमबार पानी छाडेर औपचारिक रूपमा परीक्षण गरिएको हो।
निर्माण कम्पनी भैरव–शुभानी जेभी काठमाडौंले २०८० फागुन १८ मा कुल ३७ करोड ८२ लाख, ८४ हजार सात सय ३५ रूपैयाँ २४ पैसामा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो। निर्माण कम्पनीले २०८३ फागुन १७ मा कार्य सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयअगाडि नै निर्माण कार्य गरेको हो।
उक्त योजनाको हाल भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत रहेको कार्यालयले जनाएको छ। आयोजनाको पश्चिम मूलनहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। यस्तै ११ किलोमिटर लामो गुरुवागाउँ शाखानहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।
शाखानहरबाट १४ क्युमेक्स पानी सञ्चालन गर्न सक्ने क्षमता रहेको प्राविधिकहरू बताउँछन्। उक्त शाखाको विभिन्न ६ स्थानमा ढोका, नहरको पुल १२ वटा, भर्याङ दुई वटा, पक्की नहर दुई हजार सात सय मिटर निर्माण गरिएको छ। शाखानहर निर्माणका लागि अधिग्रहण हुनुपर्ने क्षेत्रफल तीन लाख १८ हजार नौ सय ३६ दशमलव ६५ वर्गमिटर रहेकोमा हाल दुई लाख ९३ हजार आठ सय ४९ दशमलव ८३ वर्गमिटर जग्गा अधिग्रहण गरिएको छ।
जग्गा अधिग्रहणका लागि आयोजना कार्यालयले ३८ करोड ५० लाख ५७ हजार तीन सय ६५ रूपैयाँ भुक्तानी गरिसकेको छ। आयोजना कार्यालयका अनुसार शाखानहर निर्माण भएपछि करिब एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ भने दोस्रो चरणमा यसको प्रशाखा र उपशाखा विस्तार तथा निर्माणका लागि डिजाइन र लागत इस्टिमेट तयार गरिँदैछ।
आयोजना निर्देशक राजु आचार्यले बाँकेको बैजनाथ र खजुरा गाउँपालिकाका खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यसाथ गुरुवागाउँ शाखानहर निर्माण गरिएको बताए। शाखानहरमा पहिलो चरणको काम सम्पन्न हुने क्रममा रहेको र दोस्रो चरणमा प्रशाखा र उपशाखानहर निर्माणको काम सुरु हुने उनले जानकारी दिए। ‘निर्माण कम्पनीले निर्धारित समयभन्दा डेढ वर्षअगाडि नै काम गरेको छ। कम्पनीको मेहनत, स्रोत र साधनको प्रयोग राम्रो देखियो,’ उनले भने। आयोजनाले आव २०८९/९० सम्म पश्चिम र पूर्वी नहरबाट ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखे पनि त्यति समय कुर्न नपर्ने आचार्यले बताए।
बैजनाथ गाउँपालिका–५ का वडाध्यक्ष देवबहादुर रावतले गुरुवागाउँ शाखानहर जस्तै अन्य शाखा, प्रशाखाको काम पनि दु्रत गतिमा सम्पन्न गर्न आग्रह गरे। ‘शाखानहर सञ्चालन भएपछि पक्कै पनि उत्पादकत्व बढ्नेछ,’ उनले भने। बैजनाथ–६ का वडाध्यक्ष भूपाल पुन मगरले गुरुवागाउँ शाखानहरले पूर्णता पाए पनि प्रशाखा र उपशाखानहर नहुँदा किसानले पर्याप्त मात्रामा पानी उपयोग गर्न नसकेको बताए। ‘नहर खेतबारीको छेउबाट बगिरहेको छ तर प्रशाखा र उपशाखानहर नहुँदा किसानले सहज रूपमा पानी पाउन नसकेको अवस्था छ। यो समस्या समाधान गरिदिन म आग्रह गर्छु,’ उनले भने।
राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले गुरुवागाउँ शाखानहरजस्तै अरू शाखामा पनि ठेकेदारले यसको सिको गर्नुपर्ने बताए। ‘गुरुवागाउँ शाखाको काम समयमै गर्नुभयो। अरू ठेकेदारले पनि यसको सिको गर्नुहोला,’ उनले भने, ‘सिक्टाको नहर किसानका लागि अमृत हो। हामीलाई खेती गर्नका लागि पानी, मल र बिउ चाहिन्छ।’