एस् ए टी भी ३ असार, काठमाडौंः पछिल्ला दिनमा नेप्से परिसूचकमा अपेक्षित सुधार नहुँदा पनि कारोबार रकम भने लगातार बढिरहेको छ । पछिल्ला तीन कारोबार दिनको तथ्यांक हेर्दा हरेक दिन न्यूनतम ११ अर्बभन्दा बढी रकमको सेयर किनबेच भइरहेको छ ।
सो अवधिमा एक दिन नेप्से बढेको छ भने दुई दिन घटेको छ । जसअनुसार गत बिहीबार नेप्से ९ अंकले घट्यो भने आइतबार ०.४७ र सोमबार २.८० अंकले बढ्यो । गत बिहीबार १२ अर्ब ५१ करोड, आइतबार ११ अर्ब ४४ करोड र सोमबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसरी कारोबार रकम बढिरहँदा पनि समग्र नेप्सेमा अपेक्षित सुधार भएको छैन ।
कारोबार रकम बढ्ने तर नेप्से बढ्न नसक्ने सेयर बजारको यो प्रवत्तिलाई विश्लेषकहरूले लगानीकर्ताभन्दा व्यापारी (ट्रेडर) हाबी भएको बताएका छन् ।
बजारमा दीर्घकालीन सोचका लागि भन्दा पनि छोटो समयमा नै कमाउन खोज्ने अल्पकालीन प्रवृत्ति हाबी भएकाले धेरै पटक सेयर किनबचे हुने गरेको र यसले कारोबार रकम बढाएको उनीहरूको तर्क छ । ‘सेयर बजारमा लगानीकर्ताभन्दा व्यापारी (ट्रेडर) हाबी भएकाले यो अवस्था आएको हो,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्रराज सिजापतीले भने, ‘अहिले बजारमा निश्चित समूहहरू हाबी भएको देखिन्छ । त्यो समूहले कुनै कम्पनीको सेयरमूल्य माथि लाने अनि बेच्ने गरेका छन् । पछिल्ला एक महिनामा कारोबार भएका कम्पनीको अवस्था हेर्दा यो पुष्टि हुन्छ ।’ आधारभूत र प्राविधिक रूपमा कतैबाट पनि सपोर्ट नगर्ने कम्पनीहरूको सेयर मूल्यमा अत्यधिक बढोत्तरी आएको देखिन्छ, त्यसले पनि बजारमा निश्चित समूह हाबी भएको देखिने सिजापतीले बताए ।
यस्तै, सामान्य रूपमा कारोबार रकममा वृद्धि आउनुलाई सेयर बजार संकेतका रूपमा हर्नुपर्ने एक धितोपत्र ब्रोकरले बताए । ‘अहिले कारोबार रकम बढिरहेको छ भन्नुको अर्थ लगानीकर्ताले भविष्यमा बजार बढ्ने संकेत देखेका छन् भनेर पनि बुझ्न सकिन्छ,’ ती अधिकारीले भने, ‘मुख्य गरी आगामी मौद्रिक नीतिमा पुँजीबजार सम्बन्धित केही सहज नीति आउन सक्छ ।त्यसै पनि राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेल सेयर बजारप्रति उदार देखिएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर धितो कर्जामा जोखिमभार घटाएर एक सय प्रतिशत बनाइएको छ । सेयर बजारका लागि यो निकै ठूलो उदार नीति रहेको ती ब्रोकरले बताए । ‘उक्त नीतिले तत्काल सेयर बजारमा सकारात्मक प्रभाव देखिएन यो फरक कुरा हो, तर, जोखिम भार घटाउने निर्णय सेयर यो बजारका लागि राष्ट्र बैंक निकै उदार भएको बलियो प्रमाण हो,’ ती अधिकारीले भने ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.८० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१० विन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय ५८.६६ अंकमा उक्लेर बन्द भएको छ । आइतबार झिनो अंकले बढेको नेप्सेमा सोमबार झिनो अंकको सुधार देखिएको हो । सो दिन कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ वटाको घट्यो ।
सोमबार १ लाख ५ हजार ६ सय ३५ पटकको सेयर कारोबारमा ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । आइतबार ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक घट्यो । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।