एस् ए टी भी असार १ काठमाडौं :प्रदेश स्थापना भएयता बागमती प्रदेश सरकारले १४७ वटा सडक पुल निर्माण सम्पन्न गरेको छ । संघीय संरचना अनुसार २०७४ माघमा स्थापित बागमती सरकारले हालसम्मको अवधिमा सो सङ्ख्यामा पुल निर्माण सम्पन्न गरेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/०८२ मा उल्लेख छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सदनमा पेस गरेको सर्वेक्षणअनुसार २८ वटा झोलुंगे पुल/ट्रस सोथ पुल समेत निर्माण सम्पन्न भएका छन् । यस्तै संघीय सरकारबाट हस्तान्तरण भएका र प्रदेश सरकारले निर्माण गरेका सडक सञ्जालहरूमध्ये कुल ९९७.७४ किलोमिटर प्रादेशिक लोकमार्ग, ४ हजार ६४९ किलोमिटर प्रादेशिक मार्ग तथा ५६१.१८ किलोमिटर सहरी तथा स्थानीय सडक सञ्चालनमा रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म बागमती सरकारले ३८.२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । यस्तै १०२.१८ किलोमिटर पक्की सडक स्तरोन्नति, २२० किलोमिटर नियमित मर्मत तथा ४८.५९ किलोमिटर आवधिक मर्मत सम्पन्न गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रदेश सरकारले सडक पहुँच र यातायात सेवा समेत विस्तार गरेको छ । जसअनुसार प्रदेशका ११९ वटै स्थानीय तहको केन्द्रसँग सडक सञ्जालमा जोडिएको छ । जसमा ९१ वटामा पक्की सडकको पहुँच पुगेको छ भने २८ वटामा सडक सञ्जालको पहुँच पुगेपनि पक्की सडक पुर्याउन बाँकी रहेको छ ।
प्रदेशमा ७९ हजार ३९६ नयाँ सवारी साधन दर्ता भएका छन् । जसले यातायात सेवा र आवागमन सहज बनाएको छ ।
प्रदेशमा सञ्चार माध्यमको विस्तारले सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धिमा सहयोग पुगेको आर्थिक सर्वेक्षण मार्फत जनाइएको छ । हालसम्म बागमती प्रदेशमा ८१ वटा एफ.एम. रेडियो र १२ वटा केबुल टेलिभिजन दर्ता भई सञ्चालनमा रहेका छन् ।
यस्तै उद्योग र व्यापार क्षेत्रमा बागमती प्रदेश अगाडि देखिएको छ । हालसम्म बागमती प्रदेशमा ५६ हजार २९७ लघु, घरेलु तथा साना उद्योग र २५ हजार १८३ वाणिज्य व्यवसाय दर्ता भएका छन् ।
पर्यटन व्यवसायमा बागमती प्रदेशले अग्रमोर्चा सम्हालिरहेको छ । प्रदेशमा हालसम्म एक तारे ४५, दुई तारे ४९, तीन तारे ३७, चार तारे ४१, पाँच तारे २३, पाँच तारे डिलक्स ३ र हेरिटेज बुटिक ८ वटा गरी जम्मा २०६ वटा तारे होटल सञ्चालनमा छन् ।
शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवा सुदृढमा पनि बागमती सरकारले उपलब्धिमूलक काम गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शिक्षा क्षेत्रको विश्लेषण गर्दा, नेपालभरका ३५ हजार ४४७ विद्यालयमध्ये बागमती प्रदेशमा ६ हजार ६९२ (१८.८७ प्रतिशत) विद्यालय सञ्चालनमा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार, बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा उच्च हो ।
स्वास्थ्य सेवातर्फ प्रदेशमा ३ हजार १४८ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । जसबाट ४२ लाख ४१ हजार ५ जनाले सेवा लिएका छन् । प्रदेश अन्तर्गत मन्त्रालय, सचिवालय, आयोगलगायत १८ वटा निकायअन्तर्गत २०६ वटा कार्यालय सञ्चालनमा छन् । यी कार्यालयहरूमा ५ हजार १२९ स्वीकृत कर्मचारी दरबन्दी रहेको छ ।
अन्य प्रगतिहरू
प्रदेशको ९९.९७ प्रतिशत जनसङ्ख्या विद्युत् पहुँचमा पुगेको छ । राष्ट्रिय स्तरमा ३ हजार ५१२ मेगावाट विद्युत् उत्पादन भएकोमा बागमतीको योगदान १ हजार ५८८ मेगावाट (४५.२ प्रतिशत) रहेको छ ।
प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको छ ।
प्रदेशको ४४.५२ प्रतिशत जनसङ्ख्या (२७ लाख २३ हजार) कृषि पेसामा आबद्ध रहेका छन् भने ३ लाख ५२ हजार हेक्टरमा खाद्यान्न, २९ हजार हेक्टरमा तेलहन, र ३१ हजार हेक्टरमा तरकारी बाली लगाइएको छ । सहुलियत ऋण कार्यक्रम अन्तर्गत ३ अर्ब ३० करोड रुपैयाँ लगानी भएकोमा १ अर्ब ८१ करोड रुपैयाँ फिर्ता भएको छ । बागमती प्रदेशमा नेपालका कुल वन क्षेत्रको १७.०५ प्रतिशत हिस्सा रहेको छ ।
बागमती प्रदेशमा ९१ हजार ८४९ जना बेरोजगार सूचीकृत छन् । जसमध्ये ६८ हजार ७७१ जना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा सहभागी भएका छन् । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत भए पनि बागमती प्रदेशमा यसको उल्लेख ७ प्रतिशत रहेको छ ।
अन्य आर्थिक सूचक
बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ भने प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुराउने संशोधित अनुमान रहेको छ ।
बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर रहेको छ भने प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.५२ प्रतिशत रहेको छ । जसमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत रहेको छ ।
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनि बस्ने जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।
देशभरका कुल बैंक तथा वित्तीय संस्थाका ११ हजार ५४३ शाखा मध्ये २६ प्रतिशत (३ हजार ४१ शाखा) बागमतीमा छन् । बागमती प्रदेशको वित्तीय साक्षरता दर ६४.५ प्रतिशत पुगेको छ । बिमाका कुल २ हजार ९९२ शाखा मध्ये बागमती प्रदेशमा ८४० शाखा छन् ।
बागमतीमा रहेका ३ हजार २२९ वटा सहकारी संस्थाहरू मध्ये काठमाडौँ जिल्लामा १ हजार ६६२ वटा छन् । नेपाल राष्ट्र बैंकको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भइसकेको छ ।