एस् ए टी भी १८ चैत्र, काठमाडौँः खेल अवधिभर दबाबमा राखेको झापा एफसीले १० खेलाडीमा सीमित बुटवल लुम्बिनी एफसीमाथि जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ।
खेलको सुरुआतदेखि नै झापाले एकपछि अर्को आक्रमण बुन्दा बुटवलले लुम्बिनीमाथि सहज जित आंकलन गरिएको थियो। तर, दशरथ रंगशालामा अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भए पनि बुटवलले झापालाई गोलरहित बराबरीमा रोक्न सफल भयो।
बुटवलका गोलकिपर दीप कार्कीले झापाका एकपछि अर्को आक्रमण विफल बनाउँदै बललाई जाली चुम्न दिएनन्। साथै झापा सुरुदेखि नै गोल गर्न हतास देखिएको थियो। जसले गर्दा उल्टै दबाबमा परेको झापाले अंक बाँड्नुपरेको हो। बुटवलका गोलकिपर दीप प्लेयर अफ दी म्याच पनि घोषित भए। झापा यो बराबरीले दुखी देखिँदा बुटवल भने सन्तुष्ट बनेको थियो।
झापाका प्रशिक्षक प्रवेश कटवालले पनि गोल गर्न हतार गर्दा दबाबमा परेको उल्लेख गरे। ‘सुरुआतमा हामीले राम्रो खेलेका हौं। धेरै अवसर पनि सिर्जना गरेका थियौं। तर, गोल निस्किएन। छिटो गोल गर्नुपर्छ भनेर टिम दबाबमा पर्यो,’ झापाका प्रशिक्षक कटवालले भने, ‘त्यसैले दोस्रो हाफमा राम्रो हुन सकेन। एक अंक मात्र प्राप्त गर्दा दुखी छौं।’
कप्तान एरिक विष्टले रातो कार्ड बेहोरेपछि बुटवल अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो। तर, झापाले त्यसको फाइदा लिन सकेन। एक खेलाडी कम भए पनि बुटवलले महत्त्वपूर्ण एक अंक प्राप्त गर्यो। गत सिजन झापाले बुटवललाई हराएको थियो। यसपल्ट भने झापाले जित जारी राख्न सकेन।
खेल अवधिभर दबाब राखे पनि झापाको अग्रपंक्तिले बुटवलको डिफेन्स तोड्न सकेन। बुटवलका भुटानी प्रशिक्षक पुष्पलाल शर्माले छिट्टै महत्त्वपूर्ण खेलाडी घाइते हुनु र कप्तान एरिकले रातो कार्ड सामना गरेपछि खेलमा असर परेको उल्लेख गरे। ‘छोटो समयमा खेलाडीलाई यो खेलका लागि तयार गर्न पाउँदा खुसी छु।
तर, नतिजा भने राम्रो भएन। सुरुमा नै डिफेन्सिभ मिडफिल्डर घाइते भए र छिटै सब्स्टिच्युट गर्नुपर्यो। त्यसपछि हामी दबाबमा पर्यौं,’ उनले भने, ‘दोस्रो हाफमा रणनीति परिवर्तन गरेर खेलेका थियौं। तर, कप्तान एरिकले रातो कार्ड बेहोरे र हामी थप दबाबमा पर्यौं। खेलाडीले पनि अन्तिम समयमा एक अंक भए पनि प्राप्त गर्ने लक्ष्य लिएका थिए। जुन सही पनि थियो।’
यससँगै यस सिजनको पहिलो दुई खेलमा नै बराबरीको नतिजा निस्कियो। उद्घाटन खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सले २–२ को बराबरी खेलेका थिए। खेलको आठौं मिनेटमा झापाले पहिलो आक्रमण बनायो। तर, बुटवलका गोलकिपर दीप कार्कीले अलहाजी गेरोको गोल गर्ने प्रयास असफल बनाए।
रितिक खड्काको थ्रु बललाई अलहाजीले १२ यार्डबाट गरेको सशक्त प्रहार दीपले असफल बनाए। फेरि, झापाले १३औं मिनेटमा गरेको अर्को उत्कृष्ट अवसरलाई पनि दीपले नै पन्च गर्दै असफल पारे। इसाइभ मुखामदले पेनाल्टी बक्सबाहिरबाट गरेको उत्कृष्ट लेफ्ट फुटेड सटलाई दीपले पन्च गर्दै बाहिर पठाइदिए। झापाले एकपछि अर्को आक्रमण बुनेपछि लुम्बिनीका गोलकिपर दीप निकै व्यस्त रहे।
उनले २३औं मिनेटमा झापाका इरसिक लाजारको लामो दूरीबाट गरेको सशक्त प्रहार पनि सफल हुन दिएनन्। ३१औं मिनेटमा बुटवलले फ्रिकिकमार्फत आक्रमण बनायो। तर, इजेकिइल तामाराले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो। ३६औं मिनेटमा रितिकको नजिकै दूरीबाट गरेको सट पनि असफल हुँदा झापा अग्रता लिनबाट चुक्यो।
त्यसको दुई मिनेटपछि बुटवलको गोल गर्ने सुन्दर अवसर सदुपयोग हुन सकेन। मध्यभागबाट प्रदीप लामाको लामो पास नियन्त्रणमा लिँदै फिलिप एडजाहले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार झापाका गोलकिपर नेमान्जा लेमाजिचले मुस्किलले रोके। नेमान्जाले बल फुत्काए पनि झापाका लागि चुनौती भने भएन।
पहिलो हाफको थप समयमा पनि झापाको फ्रिकिक सफल भएन र गोलरहित बराबरी भयो। दोस्रो हाफमा दुवै तर्फबाट खासै राम्रो खेल हुन सकेन। ७०औं मिनेटमा कप्तान एरिक विष्टले रातो कार्ड सामना गरेपछि बुटवल १० खेलाडीमा सीमित भयो। एरिकले झापाका इसाइभलाई लडाएपछि दोस्रो पहेंलो कार्ड सामना गरेका हुन्।
८९औं मिनेटमा इसाइभले हेड गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। त्यसपछि केही आक्रमण बुने पनि गोल भएन र खेल गोलरहित बराबरीमा नै सकियो। यस संस्करणको एनएसएलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन्। यस संस्करणमा वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका छन्। आगामी वैशाख १३ गतेसम्म हुँदै छ।