
चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ ।
दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो ।
सीले क्षेत्रीय समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार र लगानीलाई सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने तथा व्यापारिक अवरोध घटाउने प्रयास गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
उहाँले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार गर्न पूर्वाधार विकास, नीति तथा नियमबीच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट सदस्य राष्ट्रका नागरिकबीच आपसी समझदारी र निकट सम्बन्ध विस्तार हुने उहाँको भनाइ थियो ।
नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै सीले डिजिटल पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता ९एआई० को व्यापक प्रयोगलाई प्रवर्द्धन गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले क्षेत्रीय अर्थतन्त्रलाई ऊर्जा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी शासन व्यवस्था सुदृढ बनाउन तथा हरित र न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फको रूपान्तरणमा सहयोग बढाउन पनि आह्वान गर्नुभयो ।
त्यसैगरी, नागरिकको जीवनस्तर सुधार गर्न तथा मानव पुँजीमा लगानी बढाउन सबै पक्षले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


















