नेभिगेसन मेनु

बाढीपीडितलाई पेन्सनको प्रक्रिया सुरु
सम्पादक:南亚网络电视
समय:2026-11-19 11:46

1000124607

 रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा ज्यान गुमाएका योगदानकर्ताका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषले पेन्सन दिने प्रक्रिया सुरु गरेको छ । कोषका अनुसार योगदानकर्ताका परिवारको दाबीबमोजिम पेन्सन पाउनयोग्य भए वा नभएको परीक्षण गरेर पेन्सन दिने प्रक्रिया सुरु भएको हो । कोषले हाल १७४ जना योगदानकर्ताका परिवारको दाबीमाथि परीक्षण गरिरहेको जनाएको छ ।  

पेन्सन प्रयोजनका लागि कोषले भदौमै रसुवाको हिमबाढी प्रभावित क्षेत्रका योगदानकर्ताको विवरण सङ्कलनका लागि निर्देशक उत्तमराज नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले कोषमा पेन्सन दाबीसहित आएका निवेदनको परीक्षण गरेर प्रक्रिया थालेको हो । 

कार्यदलका संयोजक आश्रित परिवारलाई सुविधा उपलब्ध गराउन प्रभावित क्षेत्रबाट विवरण सङ्कलन गरेर परीक्षण सुरु गरेको जानकारी दिनुभयो । हिमबाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् कम्पनी, बैङ्क तथा वित्तीय संस्था र ती कम्पनी वा वित्तीय संस्थामा काम गर्ने सुरक्षाकर्मीका परिवारबाट पेन्सनको दाबीसहित निवेदन आएको उहाँले बताउनुभयो । 

प्राप्त निवेदनउपर कोषले बाढीभन्दा अगाडिसम्म कोषमा नियमित योगदान गरे वा नगरेको विषयमा परीक्षण गरिरहेको उहाँले बताउनुभयो । कोषको नियम अनुसार पेन्सन सुविधाका लागि रोजगारदातामार्फत सूचीकृत भई योगदान सुरु गरेको मितिदेखि मृत्यु हुँदाको बखतसम्म नियमित योगदान गरेको हुनु पर्छ । प्रभावित क्षेत्रबाट आवेदन नपरेकाको पनि कोषले तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि त्यस क्षेत्रका पालिकासँग समन्वय भइरहेको छ । 

रसुवाको बाढीबाट १५ स्थानीय तहमा रहेका सूचीकृत ३९ रोजगारदाता प्रभावित भएको कोषले जनाएको छ । प्रभावितको अवस्था पहिचान गरी सम्बन्धित योगदानकर्ताको हकदार (परिवार) ले कानुन अनुसार पाउने सुविधा पेन्सनका रूपमा उपलब्ध गराइने कोषका निर्देशक नेपालले जानकारी दिनुुभयो । कोषले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका पाँच सयभन्दा बढी कर्मचारी तथा श्रमिक रहे पनि कोषको योजनामा नियमित योगदान गर्ने योगदानकर्ता १७४ मात्रै रहेको पुष्टि गरेको छ । 

भोटेकोशीको हिमबाढीमा ज्यान बेपत्ता हुने वा ज्यान गुमाउने जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर तथा प्राविधिक जनशक्तिको सङ्ख्यासमेत उल्लेख्य थियो । कोषको योजना अनुसार इन्जिनियर तथा अनुभवी प्राविधिक जनशक्तिको आश्रित परिवारले मासिक पेन्सनबापत प्राप्त गर्ने रकम न्यूनतम ५० हजार रुपियाँ हुन आउँछ ।

कोषको योजनामा योगदान गरिरहेकै अवस्थामा योगदानकर्ताको मृत्यु भएमा निजका आश्रित परिवारले मृतक योगदानकर्ताले प्राप्त गर्ने मासिक तलबको ६० प्रतिशत आश्रित परिवारलाई निवृत्तिभरणको व्यवस्था छ । योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजका सन्तति २१ वर्ष उमेर नभएसम्म सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा प्राप्त गर्ने सोही ऐनमा व्यवस्था छ । यस प्रकारको सुविधा दुई सन्ततिले दामासाही रूपमा प्राप्त गर्न सक्ने व्यवस्था छ । यस्तै मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुस्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।

कोषका अनुसार अहिलेसम्म आजीवन निवृत्तिभरणको सुविधा पाउने परिवारको सङ्ख्या एक हजारभन्दा बढी पुुगेको छ । यो सुविधा विभिन्न रोग वा दुर्घटनामा परी मृत्यु भएका परिवारले मात्रै प्राप्त गर्छन् । कोषका अनुसार आश्रित परिवार योजना अन्तर्गत हालसम्म ४० करोड ५८ लाख ५२ हजार रुपियाँ निवृत्तिभरणमा गएको छ । योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ता आश्रित परिवारलाई न्यूनतम मासिक चार हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म निवृत्तिवरण कोषले उपलब्ध गराइरहेको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी