
काठमाडौँ, जेठ २५ गते । भारतमा रहेका नेपालीले अब सिधै खातामार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको ‘पिटुपी क्रसबोर्डर रियलटाइम ट्रान्ज्याक्सन’ को उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो ।
२०८० सालमा नेपाल र भारतबिच अन्तरसीमा भुक्तानी सम्झौता भएको थियो । सोही सम्झौता अन्तर्गत यो सेवा सुरु गरिएको छ । भारतको युनिफाइड पेमेन्ट इन्टरफेर र नेपालको नेसनल पेमेन्ट इन्टरफेसलाई अन्तरआबद्ध गरी यो सेवा शुभारम्भ भएको हो । यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउस (एनसिएलएल) का अध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनीमार्फत पठाउने व्यवस्था थियो । भारतको केन्द्रीय बैङ्कले यस्तो कारोबारको रकमको सीमा प्रतिकारोबार दुई लाख भारतीय रुपियाँसम्म पठाउन सक्ने सीमा तोकेकाले नेपालमा सहज र पर्याप्त रूपमा व्यक्तिले रकम पठाउन पाउने भएका हुन् । यस व्यवस्थाले भारतमा औपचारिक सेवामा रहेका नेपालीका लागि ठुलो सहज भए पनि बैङ्क खाता खोल्न नपाएका अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीलाई भने खासै प्रभाव नपर्ने देखिएको छ ।
भारतीय बैङ्कमा खाता खोल्न रोजगारदाताको सिफारिस र आधार कार्ड हुनुपर्ने व्यवस्था छ । न्यूनतम १८२ दिन भारतमा बसिसकेका नेपालीलाई बसोबासीको प्रमाणपत्रका रूपमा यस्तो कार्ड प्रदान गर्ने व्यवस्था छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई यस्तो सिफारिस र आधारकार्ड प्राप्त गर्नै समस्या हुने गरेको छ ।
एनसिएलएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार नेपालमा कार्यरत भारतीय नागरिकले पनि आफ्नो खातामार्फत भारतमा पैसा पठाउन सक्ने छन् ।
यसर्थ यो सुविधाले भारतमा कार्यरत नेपालीलाई रकम नेपाल पठाउन सहज हुने भएको छ । भारतीय नागरिकले पनि दूतावासको सिफारिसमा नेपाली बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न पाउने वैधानिक व्यवस्था छ । नेपालबाट भने राष्ट्र बैङ्कको निर्देशन अनुसार प्रतिकारोबार १५ हजार र मासिक एक लाख भारु मात्र पठाउन पाइने व्यवस्था छ ।


















