नेभिगेसन मेनु

भारतबाट आएका सहयोगापेक्षीको बिगबिगी
सम्पादक:南亚网络电视
समय:2026-03-25 16:27

 

 2112

काठमाडौँ,  चैत ११ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भारतबाट आएका सहयोगापेक्षीको बिगबिगी बढेको छ । भारतको विभिन्न ठाउँबाट बालबच्चासहित आएका सहयोगापेक्षीले स्थानीयवासी, व्यापारी, बटुवालाई हैरान पार्ने गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिकाको धनगढीगाउँ र भुइँयाघाट जोड्ने सडक किनारमा डेरा हालेर बस्दै विभिन्न टोल र बजारक्षेत्रमा माग्ने काम गरिरहेका छन् । यो कार्यमा २०/२५ परिवारका व्यक्ति सक्रिय छन् । 

सहयोगापेक्षीका अनुसार चमार जातका मगन्ते बहराइच जिल्लाबाट आएका हुन् । चमार पुरुष जोगीको भेषमा (पहेँलो वस्त्र र चन्दन टीका लगाएर) माग्न जाने गरेका छन् । साँझपख फर्केर मासु, मदिरा खाएर होहल्ला गर्दै समुदायलाई हैरान पार्ने गरेको स्थानीयको गुनासो छ । महिला, बालबच्चा भने गाउँघर र सहरबजारमा माग्न जाने गर्छन् । उनीहरूका अनुसार मागेर दिनमा एक जनाले पाँच सयदेखि एक हजार रुपियाँसम्म कमाउने गरेका छन् । चैतदेखि जेठसम्म नेपालमा माग्ने काम गर्ने गरेको सुदेश बङ्गलियाले बताउनुभयो । उहाँले धनगढी, महेन्द्रनगर हुँदै सुर्खेत, दाङसम्म पुगेर माग्ने गरेको बताउनुहुन्छ ।

कागजी नोटले आकर्षित

अर्थतन्त्रमा नेपालभन्दा भारत अगाडि छ तर भारतका सहयोगापेक्षीको रोजाइमा भने नेपाल परेको छ । यसको कारण हो, कागजी नोटको मात्रै प्रचलन । उनीहरूका अनुसार भारतमा माग्न जाँदा उनीहरूलाई भारु एक रुपियाँ सिक्का मात्रै दिइने गरिन्छ । नेपालमा सबैभन्दा कम दिए पनि पाँच रुपियाँको नोट पाउने गर्छन् । यहाँ सिक्काको प्रयोग कम हुने भएको र पाँच रुपियाँभन्दा माथि पाइने गरेकाले नेपालमै मागेर गुजारा गरिरहेको नवविवाहित युवा कालीचरण बङ्गलियाले बताउनुभयो । 

नेपाली नागरिकता लिने प्रयास

खुला सिमानाको फाइदा उठाएर बर्सेनि जहान परिवारसहित माग्न आउने भारतीय आधार कार्डधारी मगन्तेले कैलालीमा नेपाली नागरिकता लिने प्रयाससमेत गरेको बताएका छन् । धनगढीको राजपुरमा लामो समयसम्म बसेको बेला कैलालीमै नागरिकता लिने प्रयास गरेको सुदेश बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तर यहाँको कानुन कडा भएकाले लिन सकिएन । बाँकेको खजुरामा भने स्थायी बसोबासी चार सयदेखि पाँच सय बङ्गलिया परिवारले नागरिकता पाएका छन् ।”

सुदेश आफ्ना पुर्खा पनि नेपालमा माग्न आउने गरेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नेपालमा घुम्न आउने र माग्न आउने भाारतीय छुट्याउन समस्या भएका कारण सिमानामा रोक्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ माग्नकै लागि आउन लागेको भनेर कोही पनि भन्दैन ।”

भारतबाट आएका यस्ता सहयोगापेक्षीले नागरिकता लिन खोजेको विषय भने गम्भीर रहेको जोशीको भनाइ छ । उहाँले कैलाली जिल्ला प्रशासनले त्यसरी कसैलाई पनि नागरिकता नदिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बाँकेको खजुरामा भने यस्ता सहयोगापेक्षीको बस्ती नै छ ।” खजुराका सहयोगापेक्षी स्थायी बसोबासी नागरिक रहेकाले उनीहरूले नेपाली नागरिकता पाएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर