
काठमाडौँ, चैत ११ गते । वन डढेलोको जोखिम कम गर्न धनुषाको भाटिघारी सामुदायिक वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ।
वन तथा पशुपक्षी संरक्षणका क्षेत्रमा काम गर्दै आएका मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाले क्यामेरा जडान गरेको हो ।
ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले गर्मीयामसँगै बढ्दै गएको डढेलोको जोखिमलाई मध्यनजर गर्दै सो सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा गरी १२ वटा ट्रयाप क्यामेरा जडान गरिएको बताउनुभयो ।
उहाँले डढेलोको जोखिम समयमै पहिचान गर्न तथा वन्यजन्तुको गतिविधिसमेत निगरानी गर्न क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।
यसले वन्यजन्तु संरक्षणसँगै डढेलो नियन्त्रण तथा वन सुरक्षामा सहयोग पुग्ने अपेक्षा उहाँको भनाइ छ । ट्रस्टका अध्यक्ष मण्डलले सुक्खा मौसममा वन क्षेत्रमा आगलागीको जोखिम उच्च हुने भएकाले वन उपभोक्ता तथा स्थानीयलाई सचेत रहन आग्रह गर्नुभयो।
यसैगरी डिभिजन वन कार्यालय धनुषाले भाटिघारी सामुदायिक वन उपभोक्ता समितिलाई वन डढेलो नियन्त्रण गर्न उपकरण प्रदान गरेको छ ।
डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष सुरक्षात्मक कपडा र फलामे औजार हस्तान्तरण गरिएको धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले बताउनुभयो ।





