
नयाँ दिल्ली । भारतीय वायुसेवा ‘एयर इन्डिया’को एक पाइलट क्यानडामा गिरफ्तार भएका छन् । ती पाइलटलाई भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
डिसेम्बर २३ मा उनी उक्त विमान लिएर नयाँ दिल्ली आउने तयारीमा थिए । त्यसअघि नै उनलाई नियन्त्रणमा लिइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार ‘ड्युटी फ्रि शप’का एक कर्मचारीले ती पाइलटको मुखबाट मदिराको गन्ध आएको आधारमा विमानस्थलका अधिकारीलाई यसबारे सूचना दिएका थिए ।
सोही आधारमा ती पाइलटमाथि ‘ब्रेथ एनालाइजर’ टेस्ट गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । लगत्तै ती पाइलटलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, यो प्रकरण ढिलो गरी प्रकाशमा आएको हो ।





