लेह । बुधबार भारतको केन्द्र शासित प्रदेश लद्दाखको राजधानी लेहमा राज्यको दर्जा र संविधानको छैटौँ अनुसूची अन्तर्गत संवैधानिक सुरक्षाको माग गर्दै गरिएको प्रदर्शन हिंसक बनेको छ । यस हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
प्रहरीले जनाएअनुसार प्रदर्शनकारीहरूको एक समूहले कथित रूपमा ढुङ्गा हानेपछि स्थिति बिग्रिएको थियो । आक्रोशित भीडलाई नियन्त्रण गर्न पुलिसले अश्रुग्याँस र लाठीचार्जको प्रयोग गरेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार प्रदर्शनकारीहरूले लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत आगजनी गरेका छन् ।
यी विद्यार्थीहरूले विगत १५ दिनदेखि आमरण अनशनमा बसेकी सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा विरोध प्रदर्शन गरिरहेका छन् । पूरा नभएका मागहरूको विरोधमा प्रदर्शनकारीहरूले आज बन्दको आह्वान गरेका थिए । यही बेला हिंसा भड्किएको थियो ।
हिंसापछि वाङचुकले आफ्नो अनशन तोड्दै भने, ‘यो लद्दाखको लागि दुखद दिन हो । हामी पाँच वर्षदेखि शान्तिको बाटोमा हिँडिरहेका छौँ । हामीले उपवास बस्यौँ, लेहदेखि दिल्लीसम्म पैदल यात्रा गर्यौँ । आज, हामी हाम्रो शान्तिको सन्देश असफल भएको देखिरहेका छौँ । हिंसा, गोलाबारी र आगजनी भइरहेको छ । म लद्दाखको युवा पुस्तालाई यो मूर्खता रोक्न अपिल गर्दछु । हामी हाम्रो अनशन तोड्दैछौँ र विरोध प्रदर्शन रोक्दछौँ ।’
यो प्रदर्शन लेह एपेक्स बडी ९एलएबी० को युवा शाखाले आह्वान गरेको थियो । यो आन्दोलन १० सेप्टेम्बरबाट सुरु भएको ३५ दिने भोक हडतालको क्रममा १५ जनामध्ये दुई जनालाई अस्पताल भर्ना गरेपछि सुरु भएको थियो ।
एलएबी र कारगिल डेमोक्रेटिक एलायन्स ९केडीए० ले राज्यको दर्जा र छैटौँ अनुसूचीमा समावेश गर्नको लागि लामो समयदेखि आन्दोलन गरिरहेका छन् । यी दुई निकायले पछिल्ला चार वर्षदेखि लगातार यस आन्दोलनको नेतृत्व गरिरहेका छन् र विगतमा केन्द्र सरकारसँग धेरै चरणको वार्ता पनि गरिसकेका छन् ।
लद्दाखलाई छैटौँ अनुसूचीमा समावेश गर्ने आन्दोलनले यस क्षेत्रमा लामो समयदेखि गति लिइरहेको छ । संविधानको छैटौँ अनुसूचीले उत्तरपूर्वी राज्यहरू त्रिपुरा, मेघालय, मिजोरम र असमका आदिवासी जनसङ्ख्याको लागि विशेष प्रावधानहरू गर्दछ । यसले स्वायत्त परिषद्हरू मार्फत शासन, राष्ट्रपति र राज्यपालको शक्ति, स्थानीय निकायको प्रकार, वैकल्पिक न्यायिक प्रणाली र वित्तीय शक्तिको व्यवस्था गर्दछ ।
गृह मन्त्रालय र एलएबी तथा केडीएका सदस्यहरूबिच ६ अक्टोबरमा नयाँ चरणको वार्ता तय भएको छ । बुधबारको प्रदर्शनको आह्वानमा लेह सहर बन्द गरिएको थियो र ठुलो सङ्ख्यामा मानिसहरू एनडीएस मेमोरियल ग्राउन्डमा जम्मा भएर छैटौँ अनुसूची र राज्यको दर्जाको मागमा नाराबाजी गर्दै सडकमा हिँडेका थिए ।