मकवानपुर । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा तुइनखोलामा बारम्बार पहिरो खस्दै यातायात अवरुद्ध भएपछि सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने मकवानपुरका वैकल्पिक मार्गमा सवारीको अस्वाभाविक चाप बढेको छ ।
मुख्यमार्ग बन्द भएपछि तराईका जिल्ला, पूर्व र पश्चिमबाट काठमाडौँ ओहोरदोहोर गर्ने सार्वजनिक तथा मालवाहक सवारी साधन अहिले त्रिभुवन राजपथ, कान्तिलोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडक प्रयोग गर्ने सवारी साधनको सङ्ख्या बढेको छ ।
सडक अवरुद्ध भएपछि तनहुँको खैरेनीटार हुँदै डेढगाउँको बाटो र त्रिभुवन राजपथमार्फत काठमाडौँ जानुपर्ने बाध्यता देखिएको छ ।
यस्तै तराई तथा पूर्वबाट आएका यात्रुवाहक सवारीका कारण कान्तिलोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा पनि दबाब बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उक्त मार्गमा सामान्यतया चल्नेभन्दा दोब्बर तेब्बर सङ्ख्यामा गाडी चल्न थालेका छन् । चाडपर्व नजिकिँदै गर्दा यात्रुवाहक साना तथा ठुला गाडीको भीडले जाम समस्या समेत बढेको उनले बताए ।
कान्ति लोकपथमा प्रस्थान विन्दु र समयावधि लम्ब्याइयो
यता चाडपर्वलाई लक्षित गर्दै कान्तिलोकपथ प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार सूचना जारी गर्दै असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् असोज २१ गतेसम्म नयाँ नियम लागू गर्ने जनाएको छ ।
यस अनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारी साधनले मात्र कान्तिलोकपथ प्रयोग गर्न पाउनेछन् । यिनले तोकिएका प्रस्थान विन्दु बेलुकी ९ बजेसम्म अनिवार्य पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यस अवधिमा कान्तिलोकपथ प्रयोग गर्ने गाडीका लागि दुई प्रवेश विन्दु तोकिएका छन् । मकवानपुरतर्फ बागमती गाउँपालिका–२ बगुवा र ललितपुरतर्फ गोदावरी नगरपालिका–६ टीकाभैरव प्रवेश विन्दु कायम गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार चाडबाडमा देखिने भिडभाडलाई व्यवस्थित गर्न, सडक दुर्घटनाको सम्भावना कम गर्न र काठमाडौँ–तराई यातायातलाई सहज बनाउन यो व्यवस्था गरिएको हो ।