काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अन्तिम मूल्य गणना विधि परिवर्तन गर्ने भएको छ । हाल अन्तिम १५ मिनेटको अौसत मूल्यका आधारमा अन्तिम मूल्य निर्धारण हुँदै आएकोमा मंगलबारदेखि अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मान्ने व्यवस्था गर्न लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डको शनिबार बसेको बैठकले गणना विधि संशोधन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
परिवर्तित व्यवस्था आइतबार प्राविधिक परीक्षण गर्नुपर्ने भएकोले आजदेखि लागू हुने छैन । भोलि सार्वजनिक बिदा भएका कारण पर्सिदेखि मात्रै यो व्यवस्था कार्यान्वयनमा लैजान लागिएको पराजुलीको भनाई छ ।
उक्त विधि परिमार्जन गर्न अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएको थियो । नेप्सेले शुक्रबार नै निर्देशन अनुसार विधि परिमार्जनको प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो ।
बोर्डले शनिबार नै सञ्चालक समितिको बैठक राखेर उक्त निर्णय परिमार्जन गर्ने निर्णय गरेको हो । बिहीबार सेयर बजारमा नकारात्मक सर्किट लाग्दै समय अगावै कारोबार बन्द भएको थियो। सोपछि अर्थमन्त्री खनालले पुँजी बजारको विसङ्गति अन्त्य गर्न भन्दै कार्यदल गठन समेत गरेका थिए ।
पछिल्लो कारोबारलाई अन्तिम मूल्य मान्दा बजार बन्द हुने समयमा मूल्यमा चलखेल हुने गरेको भन्दै गत चैतदेखि अौसत गणना विधि लागू गरिएको थियो । तर, लगानीकर्ताले यो विधि नरुचाएपछि उल्ट्याउने निर्णय गरिएको हो ।