एस् ए टी भी ०४ असोज, काठमाडौँः लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा चीन अध्ययनका लागि सिन्धुपाल्चोकका आठ जना विद्यार्थीहरूलाई बिदाइ गर्न असोज ३ गते विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्य र चाइनिज लर्निङ एन्ड टेस्टिङ सेन्टरको आयोजनामा सम्पन्न भएको हो भने ADO Transport यस कार्यक्रमको प्रायोजक रहेको थियो।
प्रमुख अतिथि छोजे लामा रिन्पोर्छे (अध्यक्ष तथा प्रमुख, ठाङु गुम्बा ) ले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए भने विशेष अतिथिका रुपमा खेन्पो फुर्बा शेर्पा, आचार्य पासाङ वाङ्दी, र डा. कुमार खड्का (निर्देशक, लुम्बिनी बौद्ध विश्वविद्यालय) , सुशिला महर्जन (चिनियाँ भाषा शिक्षक), सुधीर शाक्य (चिनियाँ भाषा शिक्षक), रमिला गौतम (समाचारकर्मी) लगायत अन्य अतिथि पनि उपस्थित थिए।
सभापतित्व पूर्व अध्यक्ष आङछिरि शेर्पा (झिर्पु माध्यमिक विद्यालय व्यवस्थापन समिति)ले गर्नु भएको थियो । उहाँले मन्तव्य राख्दै भने, “मैले आफैं पढेको विद्यालयका विद्यार्थीहरू आज यसरी चिनियाँ भाषा सिकेर चीनमा अध्ययन गर्न पठाउनु पाउदा एकदमै खुसीको लागि रहेको छ । यसबाट उनीहरूको उज्ज्वल भविष्यको ढोका खुल्नेछ भन्नेमा म विश्वस्त छु। यो बिदाइ केवल आठ जनाको जीवनलाई मात्र होइन, सम्पूर्ण समुदायलाई नयाँ धारातर्फ अघि बढाउने अवसर हो। विद्यार्थीले ल्याउने अनुभव र ज्ञानले समाजलाई बलियो बनाउनेछ।” उनले विद्यार्थीहरूलाई मेहनत, लगनशीलता र संस्कृतिको सम्मान गर्दै अघि बढ्न आग्रह गर्दै, चीनमा अध्ययनको अवसरलाई जीवनपरिवर्तनकारी बनाउन शुभकामना व्यक्त गरे।
आङछिरि शेर्पाको समन्वयमा झिर्पु माध्यमिक विद्यालयमा लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी स्नातक तहको पढाइ सुरु गरिएको थियो। भोटेकोशी गाउँपालिकामा पहिलोपटक विश्वविद्यालय तहको कक्षा सञ्चालन गर्ने सो कदमकै निरन्तरता स्वरूप यी विद्यार्थीहरूलाई चीन पठाइएको हो। गाउँपालिकाले पनि आगामी सत्रदेखि आफ्नै पहलमा विद्यार्थीलाई त्यहीँ अध्ययन गराउने समझदारी गरिसकेको छ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति छोजे लामा (ठाङु गुम्बा अध्यक्ष)ले मन्तव्य राख्दै भने, “शिक्षा समाज रूपान्तरणको मुख्य साधन हो। चीनमा अध्ययन गर्दा तपाईँहरूले अनुशासन, धैर्य र संस्कार पनि आत्मसात् गर्नुपर्छ। मेरो आशा र शुभकामना छ कि तपाईं चीनमा पढाइमा उत्कृष्ट सफलता हासिल गर्नुहुनेछ। तपाईंको मेहनत र लगनशीलताले तपाईंलाई उज्ज्वल भविष्यतर्फ अगाडि बढाओस् र समाज तथा देशका लागि योगदान पुर्याउने अवसर प्रदान गरोस्।।”
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै डा. कुमार खड्का (निर्देशक, लुम्बिनी बौद्ध विश्वविद्यालय) मन्तव्य राख्दै भने, “भाषा सभ्यता बुझ्ने प्रवेशद्वार हो। चिनियाँ भाषा सिक्नु भनेको विश्वसँग जोडिने पुल निर्माण गर्नु हो। चीनमा जना लागेका ८ जना विद्यार्थी हरुलाई उज्ज्वल भविष्यको लागि सधैं कामना गर्छु।
कार्यक्रमलाई सम्बोधन गर्दै सोनुर्बु शेर्पा (पूर्व अध्यक्ष, झिर्पु मावि व्यवस्थापन समिति)मन्तव्य राख्दै भने : “विद्यार्थीको यो यात्रा हाम्रो गाउँकै गौरव हो, जसले गाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछ।”
कार्यक्रमलाई सम्बोधन गर्दै आशा चापागाईं (चिनियाँ भाषा शिक्षिका) मन्तव्य राख्दै भने “आजको युगमा चिनियाँ भाषा आवश्यकता बनिसकेको छ।म स्वयं चिनियाँ भाषा शिक्षक भएको नाताले, मैले पढाएका विद्यार्थीहरू चीनमा छात्रवृत्ति सहित अध्ययन गर्न गएको देख्दा मलाई एकदमै गर्व महसुस गरिरहेको छु। अध्ययन गर्न जान लागेका सबै विद्यार्थीहरूलाई म उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्य पासाङ वाङ्दी शेर्पा (अध्यक्ष, सोअर्स एक्सन नेपाल) मन्तव्य राख्दै भने
“विद्यार्थीलाई पठाउनु भनेको भविष्यमा लगानी गर्नु हो। उनीहरूले फर्केर ल्याउने ज्ञानले समाजलाई सक्षम बनाउनेछ।”
यस अवसरमा प्रायोजक ADO Transport तर्फबाट आठ जना विद्यार्थीहरूलाई जनही १०,००० रुपैयाँ बाटो खर्चसहित शुभकामना दिइएको थियो भने विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता अवसरहरू आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यो बिदाइ केवल आठ जनाको यात्रा मात्र नभई, सिन्धुपाल्चोकको सामूहिक सपना र दुरदर्शिताको अभिव्यक्ति हो। स्थानीय नेतृत्व, संस्थागत सहकार्य र विद्यार्थीको साहसले सुरु गरेको यो पाइलाले भविष्यमा अझ धेरै युवालाई अन्तर्राष्ट्रिय शिक्षा यात्रातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।