एस् ए टी भी २५ साउन २०८२, काठमाडौँः रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको भने श्रीमान् घाइते भएका छन्।
मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको स्कारपियो मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ। उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ।
स्कारपियोका चालक राधाका श्रीमान् ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए।
उनका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो। मन्थली–७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ।