नेभिगेसन मेनु

मदिरा तस्करीको इपिसेन्टर मधेस, जालो भत्काउँदै प्रहरी
सम्पादक:南亚网络电视
समय:2025-08-06 16:51


madira taskaree

एस् ए टी भी २० साउन २०८२, काठमाडौँः भारत तस्करीका लागि सीमावर्ती गाउँमा भन्डार गरिएको मदिरा गोदाम तलासी गर्ने क्रममा घेराबन्दीमा परेका प्रहरीले चलाएको गोली लागि मंगलबार मध्यराती सप्तरीमा एक जनाको मृत्यु भयो । तिघ्रामा गोली लागेका राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो ।    

भारतीय सीमाबाट दुई सय मिटर उत्तर कमलपुर गाउँको एक छाप्रो(घर)मा  ठूलो मात्रामा मदिरा भण्डार गरी पारि अन्रामठतर्फ तस्करी गर्न लागिएको सूचनाका आधारमा ‘सर्च अपरेसन’ चलाउँदा तस्कर समूहले प्रहरीलाई घेरा हालेका थिए । प्रहरीले दिएको जानकारी अनुसार छरछिमेकका स्थानीयले समेत तस्कर समूहलाई नै सघाए ।  स्थानीयहरुले तस्कर  समूहलाई  सहयोग गर्दा प्रहरी घेराबन्दीमा पर्यो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका  प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार प्रहरीलाई घेरा हालेर आक्रमणमा उत्रिएपछि  आत्मरक्षाका लागि प्रहरीले पहिला हवाई फायर गर्नुपरेको थियो । प्रहरीले आत्मरक्षार्थ चलाएको गोली लालु यादवको बायाँ खुट्टाको  तिघ्रामा लागेको थियो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याउँदा  चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।  

मदिरा तस्करको आक्रमणबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र साहायक हबल्दार सिकेन्द्र थारुसहितका प्रहरी घाइते छन् । ‘प्रहरीतर्फ घाइते भएपछि मात्र गोली चलाइएको हो’, डिएसपी बस्नेतले भने ।राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अपरेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।  

मदिरा तस्करी नयाँ होइन

मधेसका सीमावर्ती क्षेत्रबाट मदिरा तस्करी नौलो होइन । मदिरा तस्करको सञ्जाल यतीसम्म संगठित र मजबुत छ  कि उनीहरु सुरक्षाकर्मीलाई समेत हत्या गर्न र गराउन सक्छन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई ४५ वर्षीय सत्यनारायण यादवको हत्या मदिरा तस्करीसंग जोडिएको छ । मदिरा तस्करी नियन्त्रणलाई कडाई गर्न थालेपछि तस्करहरुले सशस्त्र प्रहरी जवानलाई नै प्रयोग गरेर २०७९ असोज १९ गते राति असई यादवको हत्या गराएका थिए ।

०७९ भदौ १५ गते राती करिब १० बजे सिरहा नगरपालिका–२१ लगडिगोठबाट मदिराले भरिएको स्कार्पियो जीप तीव्र गतिमा पारी जोगिया हुँदै जयनगरतर्फ जाँदै थियो । भारतको मधुवनी जिल्ला दलनीया प्रहरी चौकी अन्तर्गत जोगिया गाउँ प्रवेश गरेको मदिराले भरिएको उक्त जीपलाई भारतीय सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्माले रोक्न खोजे । तीव्र गतिको सो जीप शर्मालाई किचेर भाग्यो । रगतले लतपत शर्मालाई उपचारका लागि जयनगर अस्प्ताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८ औं बाहिणी मुख्यालय राजनगर अन्तर्गत आराहा बिओपीमा हेड कन्सटेबल पदमा कार्यरत्त थिए ।

२०८१ मंसिर १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिराले भरिएको तस्करको गाडिले ड्युटीमा बसेका सशस्त्र प्रहरी नायव निरिक्षकलाई किचेर फरार भयो । नाकाबाट रक्सी तस्करी भइरहेको सूचना पछ्याउँदै रोक्न पुगेका नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीका कमाण्डर सशस्त्र प्रहरी नायव निरिक्षक लक्ष्मण प्रसाद यादवलाई रक्सी बोकेको गाडिले किचेर भागेका थिए । गाडीले कुल्चिएर भुईँमा ढलेका सई यादव घटनास्थलमै छटपटाएर प्राण त्यागेका थिए ।  

संयुक्त सुरक्षाकर्मीको टोली देखेर एक्लै उभिएका यादवलाई कुल्चिएर गाडी  हुइँक्याउँदै तस्कर सीमापार भागेका थिए। प्रहरीले अहिलेसम्म रक्सी बोकेको गाडि र तस्कर पक्राउ गर्न सकेको छैन् ।

भारतको बिहार राज्य सरकारले मदिरामा रोक लगाएपछि मधेसका सीमावर्ती जिल्लाहरु मदिरा तस्करीको इपिसेन्टर बन्यो । यहाँका नाका क्षेत्र भएर भारतीय नम्बरको स्कार्पियो, मोटरसाइकल, साइकलमा मदिराको ब्यापक तस्करी हुन थाल्यो । यो धन्दामा वारिपारिका संगठित तस्कर सञ्जाल परिचालित छन् ।

पछिल्लो समय नेपाली सौफी, गोल्डेन ओक, कस्तुरी लगायतका मदिराको माग सीमावर्ती गाउँसहरमा व्यापक बढेको  छ । बिहार राज्यमा प्रतिबन्धका कारण सिमा क्षेत्रका बजारहरुमा नेपाली रक्सीको माग बढेको पाइएको छ । भारततिरबाट आउने भरियालाई नेपालका तस्करले मदिरा बोकाएर पठाउने गरेका छन् ।  

भारतको जयनगर प्रहरीले केही दिनअघि मदिरासहित भारतीय युवकलाई पक्राउ गर्यो । पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे । उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद ग¥यो । जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन् । धेरैजना अझै थुनामै छन् । तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ । भारतसँग सीमा जोडिएका जिल्लाहरुको नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूकोे संगठितजालो प्रहरीका लागि चुनौती बनेको छ । बिहारमा  प्रतिबन्दपछि  चम्किएको मदिरा तस्करीको जालो भत्काउन प्रहरी लागिरहेको छ ।  

लागुऔषधको जालो पनि उस्तै 

मदिरामात्र नभई भारततिरबाट संगठित सञ्जाल मार्फत नेपालतर्फ भित्रिरहेको लागुऔषध नियन्त्रण पनि मधेस प्रदेश प्रहरीका लागि ठूलै चुनौती बन्दै गएको छ ।  

लागु औषध र मदिरा तस्करको ‘ट्रान्जिट’ बन्दै गएको मधेस प्रदेशमा प्रहरीले नियन्त्रण अभियान नै चलाएको छ । मधेस प्रदेशका आठै जिल्ला भारतीय सीमासँग जोडिएकाले यही नाकाबाट लागु औषधको कारोबार काठमाडौँसम्म हुने र सहर हुँदै सीमावर्ती गाउँ हुँदै मदिरा पारिसम्म पुग्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सीमावर्ती भारतीय बजारमा सहज पहुँच र लागु औषधको खुलेआम बिक्रीले दुव्र्यसनी दर मधेस प्रदेशमा उच्च रहेको छ । जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा करिब २३ करोड मूल्य बराबरको लागु औषध बरामद भएको छ । जसमा ठूलो मात्रामा गाँजा, चरेस, ब्राउन सुगर र अफिम बरामद भएको छ ।  एक वर्षको अवधिमा १५ हजार ४४२ किलोग्राम गाँजा बरामद गरिएको छ, जसको मूल्य १८ करोड ६० लाख रुपैयाँ बराबर छ । त्यस्तै, पाँच सय आठ किलोग्राम चरेस बरामद गरिएको छ, जसको मूल्य एक करोड ११ लाख रुपैयाँ बराबर रहेको छ। १५ लाख मूल्य बराबरको तीन किलो २०० ग्राम ब्राउन सुगर र २५ लाख मूल्य बराबरको ४६ किलोग्राम अफिमसमेत बरामद गरिएको छ। साथै, लागु औषध ट्याब्लेट, इञ्जेक्सन र बोतल गरी तीन लाख ७५ हजार ७३६ थान बरामद भएको छ, जसको मूल्य एक करोड ६७ लाख बराबर छ ।  

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीले भने, ‘मधेस प्रदेशमा मदिरा लागुऔषधको ठूलै जालो थियो । प्रहरीले अभियान चलाएर आठै जिल्लामा कडाइ गरेको छ। ठूलो संख्यामा कारोबारी पक्राउ परेका छन् र लागु औषध बरामद भएको छ।’ उनका अनुसार एक वर्षको अवधिमा लागु औषधसम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएकोमा ५२२ वटा फछ्र्यौट भएको छ ।

डीआईजी चुर्तुवेदीले भने, ‘मदिरा लागुऔषधको बढ्दो कारोबार, दुरुपयोग र ओसारपसारको ठूलो सञ्जाल पक्राउ परेको छ । मधेसका नाकाबाट काठमाडौँलगायत अन्य क्षेत्रमा समेत लागु औषध पठाउने र भिœयाउने गरिएको देखिन्छ ।’ उनले लागु औषध नियन्त्रणका लागि सबै तहको सहकार्य जरुरी रहेको बताए । डीआईजी चुर्तुवेदीका अनुसार मधेस प्रदेशमा तस्करी र राजस्व छलीका घटनामा पनि कडाइ गरिएको छ । उनले भने, ‘तस्करी र राजस्व छली पहिलाजस्तो छैन, तर अपेक्षित रूपमा नियन्त्रण पनि गर्न सकिएको छैन। यसका लागि संयुक्त रणनीति बनाएर सबै साझेदार निकाय एकजुट भएर लाग्नुपर्छ ।’

मधेस प्रदेश प्रहरीले पछिल्लो एक वर्षमा एक अर्ब ३५ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको तथ्यांक छ । पारिबाट लागुऔषध र यता(वारि)बाट मदिरा तस्करीको सञ्जाल भत्काउन आठ वटै जिल्लाका प्रहरी कडाईका साथ अघि बढेका छन् । यो नियन्त्रणमा आए  समाजिक अपराधमा समेत सकारात्मक परिवर्तण आउने उनको भनाई छ । मदिरा तस्करीको वारिपारि सञ्जालका कारण सामाजिक सुरक्षामा चुनौती थपिएकोले यसलाई कडाईका साथ नियन्त्रण गर्ने योजना छ, उनले भने ।

सप्तरीको राजगढमा भएको घटनामा प्रहरीले आत्मरक्षाका लागि गोलि चलाएको उनले भने,‘ मानवीय क्षती पुर्याउने उदेश्यले कारवाही गरिएको होइन ।’ बाँकी तथ्य घटना अनुसन्धानपछि खुल्ने उनले बताए ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर