नेभिगेसन मेनु

एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
सम्पादक:南亚网络电视
समय:2025-07-27 11:27


aisan para

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित पाँच खेलाडीको प्रतिस्पर्धा रहने दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य राखेको छ।

मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशासहित नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार उक्त नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको थियो। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामाले च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे।

उक्त च्याम्पियनसिप सारवाक सहरमा आगामी अगस्ट १ मा हुँदै छ। ठमेलमा शनिबार आयोजना भएको एक कार्यक्रमबीच काठमाडौं जिल्ला तेक्वान्दो संघले नेपाली खेलाडीलाई बिदाई गरेको हो।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

सोही अवसरमा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारालिम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्न पाएको स्मरण गर्दै यस च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे। साथै उनले पारा तेक्वान्दो टोलीका लागि प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी लागेको र आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला काठमाडौं संघका अध्यक्ष विक्रमले खेलाडीको प्रोत्साहनका लागि यस किसिमका कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्न जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौं नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरिगोल्ड र तेक्वान्दोकी पूर्वखेलाडी सुमी परियारले ६ जना खेलाडी, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्य्राकसुट प्रदान गरेका थिए। नेपाली टोली आगामी साउन १३ गते त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ।

पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसासहित अमीर ब्लोन, कामना प्रसाईं, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। हाल चीनमा अध्ययनरत पलेशा उतैबाट प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

प्रशिक्षक लामाले वैशाखदेखि नै प्रशिक्षण गरिरहेको र तयारी पनि राम्रो भएकाले पदक जित्ने आशा व्यक्त गरेका छन्। लामाले एसियन गेम्स र पारालिम्पिकको तयारीका लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण रहेको र खेलाडीको वरीयतामा सुधार गर्ने माध्यम पनि बन्ने उल्लेख गरे।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ। रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन्। पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन्। प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर