एस् ए टी भी ३ असार, ग्लास्गो, स्कटल्यान्ड: ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको १ सय खेल । यही कारणमात्र नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेल सम्झिनु पर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेलको रुपमा सधैं रहने छ ।
ट्वान्टी–२० मनोरञ्जनले भरिएको खेल हो । स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा सोमबार भएको यो खेल प्रतिस्पर्धा, मनोरञ्जन र रोमाञ्चको उत्कर्षले भरिपूर्ण थियो, जसमा नेदरल्यान्ड्सले बाजी मारेको थियो ।
पहिलो सुपर ओभर
पहिलो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेपालले १ विकेट गुमाई १९ रन बनाएको थियो । नेदरल्यान्ड्सले पनि करण केसीले फालेको ओभरमा बिना क्षति १९ रन बनायो ।
सुपर ओभरमा कप्तान रोहित पौडेलले पहिलो बलमा १ रन लिएपछि स्ट्राइकमा आएका कुशल भुर्तेलले २ छक्का र १ चौकासहित १८ रन जोडि ओभरको अन्तिम बलमा आउट भए । नेदरल्यान्ड्सबाट माइकल लेभिटले पहिलो बलमा छक्का प्रहार गरे भने तेस्रो बलमा लेग बाईबाट १ रन लिएपछि स्ट्राइकमा आएका म्याक्स ओ डडले अन्तिम ३ बलमा १२ रन जोडेका थिए, जसमा अन्तिम २ बलमा छक्का र चौका प्रहार गरेका थिए ।
दोस्रो सुपर ओभर
दोस्रो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ललित राजवंशीको ओभरमा १ विकेट गुमाई १७ रन बनाएको थियो । कप्तान स्कट इडवार्डसले १० रन बनाई ओभरको अन्तिम बलमा आउट भए । म्याक्स ओ डड ७ रनमा रिटायर्ड भए ।
जवाफमा नेपालबाट रोहितले पहिलो बलमै केयल क्लेइनलाई छक्का प्रहार गरे भने दोस्रो बलमा १ रन बनाए । तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे । चौथो र पाँचौं बलमा कुनै रन प्रहार गर्न नसकेका दीपेन्द्रले छैटौंमा छक्का प्रहार गरेपछि स्कोर पुनः बराबर भएको थियो ।
तेस्रो सुपर ओभर
रोहित पहिलो बलमै आउट भए । त्यसपछि आएका रुपेश सिंहले दोस्रो र तेस्रो बलमा रन बनाउन सकेनन् भने चौथो बलमा आउट भएपछि नेपालले कुनै रन बनाउन सकेन ।
माइकल लेभिटले पहिलो बलमै सन्दीप लामिछानेलाई छक्का प्रहार गरेपछि नेदरल्यान्ड्सले खेल जितेको थियो ।
‘टाई स्कोर’
नेपाललाई १ सय ५३ रनको लक्ष्य लिएर आएको नेपालले ८ विकेट गुमाई १ सय ५२ रन बनाएपछि स्कोर ‘टाई’ भई खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन चाहिन्थ्यो ।
सन्दीप लामिछानेले पहिलो दुई बलमा क्रमशः २ र १ रन बनाएपछि क्रिजमा आएका नन्दन यादवले अन्तिम ४ बलमा १२ रन प्रहार गरेपछि स्कोर बराबर भएको थियो । नेपाललाई अन्तिम बलमा विजयका लागि ५ रन चाहिने अवस्थामा नन्दनले चौका प्रहार गरेका थिए ।
१९ औं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल आउट भएपछि नन्दन र सन्दीपको जोडिले अन्तिम ओभरमा १५ रन बटुलेको थियो । रोहितले ३५ बल खेलि ३ चौका र २ छक्का प्रहार गरि ४८ रन बनाए ।
नेपालको सुरुआत राम्रो थिएन । ट्वान्टी २० का लागि स्कटल्यान्ड आएका लोकेश बम आफुले सामना गरेको पहिलो बलमै कट बिहाइन्ड भए । अनिल साह पनि ३ बल खेलि १ रनमा आउट भए । ओपनर कुशलले २३ बल खेलि ५ चौकासहित ३४ रन बनाए ।
तर दीपेन्द्रसिंह ऐरी ७ बल खेलि ३ रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । ‘डेब्यु’ गरिरहेका किरण ठगुन्नाले २५ बल खेलि ५ रनमात्र बनाउन सकेपछि नेपालमाथि दबाब चुलिएको थियो । ‘डेब्यु’ गरिरहेका अर्का खेलाडी रुपेश सिंहले १४ बल खेलि समान १ चौका र छक्का प्रहार गरि १९ रन बनाए ।
करण १ छक्का प्रहार गरि ८ रन बनाई आउट भए । नेदरल्यान्ड्सबाट देब्रे हाते स्पिनर डेनियल डोरमले ४ ओभरमा १४ रनमात्र खर्चेर ३ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेलि ७ विकेट गुमाई १ सय ५२ रन बनाएको थियो । स्पिनरहरुको उत्कृष्ट बलिङपछि ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो १ सय खेल खेलिरहेको नेपालले १७ ओभरमा नेदरल्यान्ड्सलाई ११७–६ को स्थितिमा रोकेको थियो । तर अन्तिम ३ ओभरमा नेदरल्यान्ड्सले ३५ रन जोड्दै राम्रो स्कोर बनायो ।
लेग स्पिनर सन्दीपले ४ ओभरमा १८ रन खर्चिएर ३ र ललित राजवंशीले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । कुशलले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रुपेशले ३ ओभरमा ३१ रन खर्चेर कुनै विकेट लिन सकेनन् । नन्दनले २.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इनिङ्सको अन्तिम ओभरमा नन्दन घाइते भएपछि बाँकी रहेको अन्तिम बल करणले फालेका थिए । करण र दीपेन्द्रले नेपालबाट सर्वाधिक ७९ खेल खेलेका थिए ।
नेदरल्यान्ड्सबाट तेजा निडामानुरुले सर्वाधिक ३५ रन बनाए । ३७ बल खेलि १ छक्का प्रहार गरेका उनलाई नन्दनले अन्तिम ओभरमा बोल्ड गरे । विक्रमजित सिंहले २९ बल खेलि २ छक्कासहित ३०, माइकल लेभिट १६ बल खेलि समान १ चौका र छक्कासहित २०, म्याक्स ओ डड ११ बल खेलि २ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।
नेदरल्यान्ड्सको ट्वान्टी २० टोलीमा ल्याइएका सकिव जुल्फिकर २५ रन बनाई अविजित रहे । उनले उनले १२ बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।
आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्स घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली बिजेता बन्ने छ ।