नेभिगेसन मेनु

विश्वविद्यालयमा तोडफोड गर्नेलाई प्रहरी–प्रशासनको धाप
सम्पादक:南亚网络电视
समय:2025-06-17 12:02

 

 

  rectror-0732025091006-1000x0-1762025030329-1000x0

एस् ए टी भी ३ असार, काठमाडौंः  त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोडमा संलग्न मुख्य आरोपीविरुद्ध मुद्दा दायर नभएपछि प्रहरी–प्रशासनको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । तोडफोड आरोपमा पक्राउ परेका दुई जना पनि दुई दिनमै छुटेपछि दोषीहरूलाई प्रहरी र प्रशासनले नै धाप दिएको भन्दै त्रिवि पदाधिकारीले असन्तुष्टि जनाएका छन् । 

मुख्य दोषीलाई कारबाही नभएको र पक्राउ परेका पनि अभद्र व्यवहार मुद्दामा १० हजार धरौटीमा छुटेपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको उपकुलपति खड्ग केसीले बताए ।

‘तोडफोडमा जोकोही संलग्न भए पनि कारबाही हुनुपर्छ भनेर विश्वविद्यालयका तर्फबाट गम्भीरतापूर्वक समीक्षा गर्न आग्रह गरेका छौं,’ उनले भने । जवाफमा प्रधानमन्त्री ओलीले तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको उनले बताए । विश्वविद्यालयले शान्तिसुरक्षा माग गर्दै दिएको निवेदन तोक लगाएर गृह मन्त्रालय पठाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीकै संलग्नतामा १४ जेठमा उपकुलपतिको कार्यालयमा तोडफोड गरिएको थियो । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझालगायत विरुद्ध मुद्दा चलाएको छैन । उनीहरू शंकरदेव क्याम्पसका स्ववियु पदाधिकारी तथा सत्तारूढ नेविसंघको कार्यकर्ता हुन् ।तोडफोडमा संलग्न एक विद्यार्थीका अनुसार उपाध्याय र ओझाले नै बोलाएर अन्य नेविसंघका कार्यकर्ताहरू उक्त दिन उपकुलपति कार्यालय पुगेका थिए । उनीहरू तोडफोडमा संलग्न रहेको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ । त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीमाथि सहानुभूति देखाएको भन्दै आलोचना भएको छ ।

असुरक्षा तथा नेविसंघकै तालाबन्दीका कारण २१ दिनदेखि विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुरबाहिरबाटै सेवा सञ्चालन गर्दै आएका छन् । काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीले मुख्य आरोपीलाई मात्र मुद्दा चलाएको दाबी गरे ।

घटनाको सीसीटीभी फुटेज हेरेर मुख्य आरोपी २ जनालाई मात्र अनुसन्धान पूरा गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो,’ उनले भने, ‘विद्यार्थीका विषय भएकाले तोडफोडमा प्रत्यक्ष सहभागीलाई मात्रै अभद्र व्यवहारमा मुद्दा चलाएका हौं ।’ प्रहरीले गत मंगलबार तोडफोडमा संलग्नमध्येका दिक्पाल कार्की र लोकेश कुँवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । पाँच दिनको म्याद लिएर अभद्र व्यवहारमा मुद्दा चलाए पनि उनीहरू बिहीबार १०/१० हजार धरौटीमा दोस्रो दिनमै छुटे । कार्की सानोठिमी क्याम्पसका स्ववियु सचिव हुन् भने कुँवर शंकरदेवका नेविसंघका कार्यकर्ता हुन् । अभद्र व्यवहार कसुरमा एक वर्षभन्दा कम सजाय हुने र मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । जबकि मुलुकी अपराध संहितामा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए १ वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

जेठ १४ मा विभिन्न क्याम्पसमा नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्ष, सचिवलगायतले उपकुलपति कार्यालय तोडफोड गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए । रेक्टर र रजिस्ट्रार कार्यालयमा पनि तालाबन्दी गरिएको छ । माघमा बन्द भएको स्नातक तहको भर्ना पुनः खोल्नुपर्ने मागसहित उपकुलपति कार्यालय पुगेका १५/२० जनाको समूहले प्रहरीकै उपस्थितिमा तोडफोड गरेको थियो । उक्त दिनदेखि उपकुलपति केसी, रेक्टर दुविनन्द ढकाल र रजिस्ट्रार केदार रिजाल कार्यालय जान सकेका छैनन् । कार्यालयमा तालाबन्दीका कारण उपकुलपति र रजिस्ट्रारले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा बसेर प्रशासनिक कामकाज गर्दै आएका छन् । कार्यकारी परिषद्लगायत बैठक पनि त्यहीं हुने गरेको छ ।

विश्वविद्यालय र क्याम्पसमा विद्यार्थीबाट पटक–पटक तोडफोडका घटना हुँदै आए पनि राजनीतिक संरक्षणका कारण दोषीले उन्मुक्ति पाउँदै आएका थिए । यस पटक भने त्रिवि कार्यकारी परिषद्ले सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गर्नेलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएको थियो । तर वृत्तले किटानी जाहेरी आवश्यक पर्ने भन्दै त्रिविलाई पत्राचार गरेको थियो । वृत्तले जेठ २० गते नाम, थर, वतन खुलाई किटानी जाहेरी दिन त्रिविलाई पत्राचार गरेको थियो । जबकि त्रिविले त्यसअघि नै तोडफोडमा संलग्नहरूले हस्ताक्षरसहित बुझाएको विज्ञप्तिसमेत त्रिविले उजुरीमा संलग्न गरेको थियो ।

तोडफोडमा मुद्दा दर्ता भएका र पक्राउ परेका बाहेक शंकरदेव क्याम्पसका गजेन्द्र बम, सविन भट्ट, सोनु साह, किशोर थापा र भोजराज भनिने नेविसंघका कार्यकर्ता संलग्न रहेको त्रिविले जनाएको छ । त्यस्तै पब्लिक युथ क्याम्पस स्ववियु अध्यक्ष सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका स्ववियु अध्यक्ष मुस्कानराज गौतम, भक्तपुर क्याम्पसका स्ववियु अध्यक्ष पुकार पराजुली तोडफोडमा संलग्न थिए । पराजुलीबाहेक अन्य २०७९ मा भएको स्ववियु निर्वाचनमा निर्वाचित पदाधिकारी हुन् । कैलाशकुट बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष मुरारी गौतम, सानोठिमी क्याम्पसका राजेश तिमिल्सिना, कान्तिपुर कलेजका अंशु फुयाल, काभ्रे बहुमुखी क्याम्पसका रोहित पराजुली पनि उपकुलपति कार्यालय तोडफोडमा संलग्न रहेको त्रिविले जनाएको छ । यसअघि फागुनमा विद्यार्थीको समूहले रेक्टर कार्यालय तोडफोड हुँदा पनि गृह प्रशासनको बेवास्ताका कारण कारबाही हुन सकेको थिएन ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर