एस् ए टी भी १४ चैत्र, काठमाडौँः प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण पर्नुभएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो । ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहनुभएको छ ।
आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।
प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।