नेभिगेसन मेनु

म्याग्दीका चार स्थानीय तहको बजेट सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2024-06-22 15:15

blog

म्याग्दी, असार ८ गते । म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

एक नगरपालिकासहित ५ वटा गाउँपालिका भएको म्याग्दीमा शुक्रबार बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकाले गाउँसभामार्फत बजेट सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट ७२ करोड रुपियाँभन्दा बढीको बजेट ल्याएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार : स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले ७२ करोड ७८ लाख १३ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आगामी आवको बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ३१ प्रतिशत खर्च हुने जानकारी दिनुभयो । नगर प्रमुख सुरत केसीले प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यसैगरी, मंगला गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ २९ करोड ५४ लाख ३१ हजार आठ सय र पुुँजीगततर्फ १९ करोड ५५ लाख गरि कुल ४९ करोड नौ लाख ३१ हजार आठ सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा दुई करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाष तथा संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाई क्षेत्रमा गरि कुल २२ करोड दुई लाख ६४ हजार रुपियाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै आर्थिक विकासअन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिँचाइमा २३ लाख गरी कुल एक करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ पाँच करोड, ८० लाख १० हजार र सुशासनतर्फ तीन करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवद्र्धन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा नागरिकको आवश्यकता अनुरुपका विकास, समृद्धि र सुशासनलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउनुभयो ।

मालिका गाउँपालिकाले १५ औं गाउँअधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले ४७ करोड ७४ लाख ४० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान तर्फ आठ करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १९ करोड ११ लाख, राश्व बाँडफाँडबाट ९० लाख, पूँजीगत ससर्त अनुदान १५ लाख, विशेष अनुदान(पूँजीगत) एक करोड ४५ लाख र समपुरक अनुदान दुई करोड रुपियाँलाई बजेटको आय मानिएको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारको समानिकरण अनुदान एक करोड ५३ लाख पाँच हजार, राजस्व बाँडफाँटबाट ५७ लाख पाँच हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, गाउँपालिकाको आन्तरिक आय एक करोड र अनुमानित सञ्चित कोषबाट चारकरोड रुपियाँलाई बजेटमा समावेश गरिएको उपाध्यक्ष घर्ती मगरले सभामा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष घर्ति मगरले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड ५५ लाख पाँच हजार र पूँजीगत तर्फ १६ करोड ६८ लाख ८५ हजार रुपियाँ विनियोजन गरिएको छ ।

वडागत योजना तथा कार्यक्रमका लागि तीन करोड ८५ लाख,लागत सहभागितामा सञ्चालन हुने योजनाहरुका लागि तीन करोड ७४ लाख,४४ हजार, प्रशासकीय भवन,वडा नम्बर १ र ७ नम्बर वडा कार्यालय भवन लागि दुई करोड, विपतजन्य क्षतिबाट पुनर्निर्माण तथा राहत वितरणका लागि ८० लाख र पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि दुई करोड ८३ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, युवा स्वरोजगार, पर्यटन, सिँचाइ, भवन निर्माण, उर्जा, सञ्चार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो । 

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले २२ औं गाउँसभामा ४३ करोड २७ लाख ६८ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको छ । बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड दुई लाख ६ हजार, आन्तरिक आयतर्फ ४० लाख र चालु आर्थिक वर्षमा खर्च नभएर बाँकी हुने  एक करोड ५० लाख बजेटको स्रोत अनुमान गरिएको छ ।

बजेटमा पालिकाकै १ नम्बर वडा गुर्जामा सडक पुर्‍याउन प्राथमिकतामा राखेर लुलाङ–गुर्जा सडकलाई एक करोड रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । पूर्वाधार विकास तर्फ आठ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ ४७ लाख ६० हजार, सामाजिक विकास तर्फ तीन करोड ३९ लाख ३४ हजार,वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६९ लाख ३६ हजार,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १० करोड नौ लाख एक हजार विनियोजन गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर