नेभिगेसन मेनु

अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:39

Saligram

जेठ ३० गते । मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय वटा शालिग्राम प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ प्रहरीले तीन हजार ३७९ वटा शालिग्राम बरामद गरेको हो । 

शालिग्रामको उद्गमस्थलका रूपमा लिइने दामोदरकुण्ड क्षेत्रबाटै सङ्कलन गरेर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले शालिग्राम लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङबाट गाडीमा लोड गरेर लैजाँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चराङदेखि जोमसोमतर्फ शालिग्राम लैजाँदै छन् भन्ने सूचनाका आधारमा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो ।”

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ पाण्डेयले जिपमा राखेर जोमसोमतर्फ लैजाँदै गरेको अवस्थामा शालिग्राम बरामद गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले बरामद शालिग्राम आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाएको प्रनाउको भनाइ छ ।

एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले अवैध रूपमा व्यावसायिक प्रयोजनका लागि लैजान लागिएको आशङ्का गरिएको उक्त शालिग्राम कसको हो भन्ने खुल्न नसकेको बताउनुभयो । शालिग्राम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जोमसोमबाट एक्यापको प्रधान कार्यालय पोखरामा पठाइएको उहाँले जानकारी दिनुभयो । मुस्ताङमा यति ठुलो सङ्ख्यामा शालिग्राम बरामद भएको पहिलो घटना हुन सक्ने अनुमान गरिएको छ ।

कुनै पनि सामग्री अन्यत्र लैजान छोडपुर्जी चाहिने भए पनि शालिग्रामलाई बिक्रीवितरण तथा ओसारपसार गर्न पाइने कानुनी व्यवस्था नरहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले जानकारी दिनुभयो । सामान्यतः एक/दुई वटा कसैले घरमा पूजा गर्न लैजाने गरे पनि व्यावसायिक तथा अन्य प्रयोजनका लागि लैजाने कुनै कानुनी आधार नभएकाले यसबारे आवश्यक कारबाहीका लागि केन्द्रीय कार्यालय पठाइएको उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर