नेभिगेसन मेनु

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब
सम्पादक:南亚网络电视
समय:2024-05-01 13:31

lllagani

वैशाख १९ गते । शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ । खासगरी सेवा क्षेत्र विस्तार हुँदा अर्थतन्त्रले सुधारको गति लिने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । 

कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धि भई अर्थतन्त्रको आकार साढे तीन खर्बले बढ्ने प्रारम्भिक अनुमान गरेको हो । त्यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब पुग्ने अनुमान कार्यालयको छ । गत आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान गरिएको छ । 

चालु आवको आठ महिनासम्मको तथ्याङ्कलाई आधार मानेर बाँकी अवधिमा पनि अर्थतन्त्र सामान्य रूपमै अघि बढ्ने अनुमानका आधारमा राष्ट्रिय लेखा तथ्याङ्क तयार गरिएको कार्यालयका सचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । अर्थतन्त्रलाई १८ वटा क्षेत्रमा विभाजन गरी गरिएको अनुमानले अधिकांश क्षेत्रमा प्रगति भइरहेको देखिएको उहाँले बताउनुभयो । 

“विगतको तुलनामा धेरै सुधार देखिएको छ । अर्थतन्त्रमा समस्या रहेको चर्चाबिच सुधार आउनु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो । गत आवमा नेपालले १.९५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको कार्यालयले संशोधित अनुमान गरेको छ । 

वृद्धिदरमा सेवा क्षेत्र अगाडि

औद्योगिक समूह अनुसार चालु आवमा सेवा क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा ६२.९ प्रतिशत योगदान रहने अनुमान गरिएको यस क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान छ, जुन अर्थतन्त्रको वृद्धिदरको तुलनामा बढी हो । 

यसबाहेक कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको वृद्धिदर केवल २.७२ प्रतिशत रहने अनुमान थियो । उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून अर्थात् १.२० प्रतिशत हुने अनुमान छ, जुन गत आवको तुलनामा अझ कम हो । गत आवमा यस क्षेत्रको वृद्धिदर १.४० प्रतिशत हुने अनुमान गरिएको छ । 

उद्योग र निर्माण क्षेत्र खुम्चिए

चालु आवमा उद्योग र निर्माणको क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ । कुल १८ वटा क्षेत्रमा गरिएको औद्योगिक वर्गीकरण अन्तर्गतका उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान छ । त्यस्तै निर्माण क्षेत्रमा पनि २.०७ प्रतिशतको ऋणात्मक वृद्धिदर हुने अनुमान गरिएको छ । 

समीक्षा वर्षमा सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने अनुमान छ । यसबाहेक बाँकी क्षेत्रहरूको वृद्धिदर पाँच प्रतिशत तल नै रहने अनुमान गरिएको छ । 

प्रतिव्यक्ति आय एक लाख ९५ हजार

चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ । लेखा अनुमानका अनुसार यस आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान रहेको छ, जुन गत आवको तुलनामा ५१ डलरले बढी हो । चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।  

कुल आयमध्ये नेपालीले ९२.३८ प्रतिशत उपभोगमै खर्च गर्ने देखिएको छ । 

वस्तु तथा सेवा निर्यातमा सुधार

आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान गरिएको छ । यसै गरी चालु आवको कुल गार्हस्थ्य उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा ३४.६८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । 

अघिल्लो आवको तुलनामा २०८०/८१ मा विप्रेषण आप्रवाह वृद्धि भएको छ । चालु आवमा कुल गार्हस्थ्य उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा कुल गार्हस्थ्य उत्पादनको २०.२४ प्रतिशत विप्रेषण प्राप्त भएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर