नेभिगेसन मेनु

नेपालविरुद्ध खेल्न आउँदै छ वेस्ट इन्डिजको अनुभवी खेलाडीसहितको टोली
सम्पादक:南亚网络电视
समय:2024-04-24 12:36

kirtipur-maidan2024-04-22-07-16-12

वेस्ट इन्डिजले नेपालको राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टोली घोषणा गरेको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार राति आइसिसी टी–२० विश्वकप क्रिकेट खेलेका दुई खेलाडीसहित टोली घोषणा गरेको हो । जसमा अनुभवी खेलाडी धेरै छन् । वेस्ट इन्डिजले नेपालसँग पाँच टी–२० खेल्नेछ । 

वेस्ट इन्डिजले नेपाल भ्रमणलाई विश्वकपअगाडिको तयारी रूपमा लिएको छ । आयोजकसमेत रहेको आइसिसी टी–२० विश्वकपमा बलियो टोली बनाउन प्रशिक्षक डारेन सामीले अनुभवी खेलाडी नेपाल पठाएका छन् । उनले खेलाडीको क्षमता र अवस्था बुझेर खेलाडी छनोट गर्ने जनाएका छन् । ‘वेस्ट इन्डिजको नेपाल भ्रमण राम्रो हुने विश्वास छ,’ आइसिसीसँग कुराकानी गर्दै प्रशिक्षक सामीले भने, ‘खेलाडी छनोट गर्न पनि सहज हुनेछ ।’ 

वेस्ट इन्डिजले आन्द्रे फ्लेचर, फाबियान आलेन, जोनसन चार्ल्स, हेडेन वाल्सजस्ता अन्तर्राष्ट्रिय टी–२० का विशेषज्ञ खेलाडीलाई समावेश गरी आफ्नो ‘ए’ टोली घोषणा गरेको हो । सिनियर टिमका रोभमन पावेल, आन्द्रे रस्सेल, निकोलास पुरान, कायल मेयर्स, सेरफन रुथरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ, सिमरन हेटमयरजस्ता खेलाडीले इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । 

त्रिवि मैदानमा सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप उचालेको समयका जोनसन चार्ल्स र आन्दे्र फ्लेचरसहित अन्य खेलाडीले प्रतिस्पर्धा गर्नेछ । इतिहासमै वेस्ट इन्डिज टोलीको पहिलोपटक नेपाल भ्रमणमा आउन लागेको हो ।

आइपिएलका अनुभवी खेलाडी पनि 

वेस्ट इन्डिजको टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सको अनुभवी लिइसकेका म्याककोय पनि नेपाल आउनेछन् । उनी अहिलेको वेस्ट इन्डिज टोलीकै प्रमुख बलर हुन् । बायाँहाते तीव्र गतिका बलर म्याककोयले सन् २०२२ मा भारतविरुद्ध १७ रन खर्चेर ६ विकेट लिएका थिए । वेस्ट इन्डिजको टोलीमा २७ वर्षीय तीव्र गतिका बलर थोमस नाम चलेका खेलाडी हुुन् । उनीसँग २५ एकदिवसीय र २१ अन्तर्राष्ट्रिय टी–२० खेलको अनुभव छ । 

टोलीमा अर्का विश्वस्तरीय खेलाडी फलेचर हुन् उनले २५ एकदिवसीय खेलमा दुई अर्धशतकको मद्दतमा तीन सय ५४ रन बनाएका छन् । यसैगरी, ५४ अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले ६ अर्धशतकको सहयोगमा नौ सय ५० रन जोडेका छन् । उनले पहिलो श्रेणीमा पाँच, लिस्ट ‘ए’मा एक र टी–२० खेलमा तीन शतक लगाएका छन् । उनले वेस्ट इन्डिजको एकदिवसीय टोलीबाट २५ खेलमा तीनपटक मात्र बलिङ गरेका छन् । 

वेस्ट इन्डिज ‘ए’ टोली 

रोस्टन चेज (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेस मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

यी हुन् अनुभवी क्रिकेटर

एन्ड्रे फ्लेचर : फ्लेचर बलिङ र ब्याटिङमा समान प्रदर्शन गर्न सक्छन् । सन् २००८ मा उनले अस्ट्रेलियाविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । सन् २०१६ मा उनले अन्तिमपटक अस्ट्रेलियाविरुद्ध नै खेले । एकदिवसीयमा उनले २५ खेलमा ३५४ रन बनाएका छन् । ५४ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ६ अर्धशतकको मद्दतमा नौ सय ५० रन बटुलेका छन् । उनले पाकिस्तानविरुद्ध टी–२० मा अन्तिमपटक २०२१ मा खेलेका थिए । 

ओसाने थोमस : नेपालविरुद्धको खेलमा ओसानेले मौका पाउने भएका छन् । उनले सन् २०१८ मा भारतविरुद्ध एकदिवसीय र टी–२० मा डेब्यु गरेका थिए । सन् २०२३ मा उनले अन्तिमपटक इंग्ल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । एकदिवसीय खेलमा उनको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध थियो । उनले एकदिवसीयमा २५ खेलमा ३१ विकेट, टी–२० मा २१ विकेट तथा पहिलो श्रेणीमा २० विकेट लिएका छन् । ब्याटिङमा उनले एकदिवसीय खेलमा २२ रन बनाएका छन् । 

फाबियन आलेन : फाबियनले अहिलेसम्म टेस्ट खेलमा अवसर पाएका छैनन् । उनले वेस्ट इन्डिजको टोलीबाट एकदिवसीय तथा टी–२० खेलमा अवसर पाएका छन् । उनले २० पटक एकदिवसीय खेल खेल्दा सात विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा उनले ३४ खेलमा २४ विकेट लिएका छन् । उनले ५० ओभरमा २० खेलमा एक अर्धशतकको सहयोगमा दुई सय रन तथा ३४ टी–२० मा दुई सय ६७ रन बनाएका छन् । 

एलिक एथानाजे :  दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजको उपकप्तानमा २५ वर्षीय एलिक एथानाजे छन् । उनले चार टेस्ट, १० एकदिवसीय खेल खेलेका छन् ।  वेस्ट इन्डिजले टी–२० विश्वकप उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।उनले चार टेस्टमा एक सय ६८ रन  बनाएका छन्  । त्यस्तै १० एक दिवसीयमा दुई सय ८८ रन जोडेका छन् । बलिङतर्फ टेस्टमा १ विकेट मात्रै लिएका एथानाजेले लिस्ट ‘ए’तर्फ १९ विकेट लिएका छन् । 

रोस्टन चेजले कप्तानी गर्ने 

दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कप्तानी रोस्टन चेजले गर्नेछन् । नेपालविरुद्ध घोषित टोलीमा चेज सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले ४९ टेस्ट, ४५ एकदिवसीय र ११ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन् । उनले टेस्ट खेलमा पाँच शतक तथा ११ अर्धशतकको मद्दतमा दुई हजार दुई सय ६५ रन बनाएका छन् । यस ५० ओभरमा उनले ४५ खेलमा चार अर्धशतकको सहयोगमा सात सय ८३ रन जोडेका छन् ।

अलराउन्डर भूमिका निर्वाह गर्ने चेजले टेस्टमा ८५, एकदिवसीयमा २७ तथा टी–२० मा नौ विकेट लिएका छन् । गत ६ फेब्रुअरीमा उनले अन्तिमपटक अस्ट्रेलियाविरुद्ध खेलेका थिए । ३२ वर्षीय अनुभवी रोस्टन चेजको कप्तानीमा वेस्ट इन्डिज ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच खेल खेल्ने बलियो टोली घोषणा गरेको हो ।

विश्वकप विजेता जोनसन चार्ल्स

जोनसन चार्ल्स : नेपालविरुद्ध घोषित खेलाडीमध्ये चार्ल्स पनि अनुभवी खेलाडीमा पर्छन् । उनले ५८ एकदिवसीय खेलमा दुई शतक तथा सात अर्धशतकको मद्दतमा एक हजार पाँच सय ३७ रन बनाएका छन् । यसैगरी, ४८ अन्तर्राष्ट्रिय टी–२० मा उनले एक शतक र चार अर्धशतकको मद्दतमा एक हजार ८५ रन बटुलेका छन् । एकदिवसीय र टी–२० मा बलिङमा अवसर पाए पनि उनले विकेट लिन सकेका छैनन् ।

एकदिवसीयमा उनले २०१२ मा अस्ट्रेलिया र टी–२० मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । उनले अन्तिमपटक २०२४ को १३ फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गरे ।  सन् २०१२ मा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ८४ रनले हराउँदै उपाधि जितेको थियो । त्यसवेला चार्ल्स नै म्यान अफ दी सिरिज भएका थिए । उत्कृष्ट फर्ममा रहेका चार्ल्सले गत वर्ष दक्षिण अफ्रिकाविरुद्ध ४६ बलमा एक सय १८ रन बनाएका थिए । उनले आफ्नो शतकीय इनिङ्समा १० चौका र ११ छक्का प्रहार गरे । सन् २०१६ को टी–२० विश्वकपमा वेस्ट इन्डिजले भारतलाई सेमिफाइनलमा सात विकेटले हराउन चार्ल्सले ५२ रन बनाएका थिए । 

प्रशिक्षक डारेन सामी भन्छन्– खेलाडीले नेपाल भ्रमणमा राम्रो गर्नुपर्छ 

एक प्रशिक्षकका रूपमा नेपालको भ्रमणलाई फरक रूपमा लिएको छु । सम्भवतः टी–२० विश्वकपअगाडि नेपालमा हुने खेलले हामीहरूको टोली बनाउन सजिलो हुनेछ । पाँच टी–२० खेलपछि विश्वकपका लागि खेलाडी छनोट गर्न सहज हुने विश्वास लिएको छु ।

व्यक्तिगत रूपमा पनि खेलाडीहरूले नेपाल भ्रमणमा राम्रो गर्नुपर्छ । हाम्रो टोलीमा रहेका नौजना आइपिएलमा अनुभव लिइसकेका छन् । तपाई आफैँ विश्वास गर्नुस्, योपटक वेस्ट इन्डिजको टी–२० टोली निकै बलियो छ । पछिल्लो केही वर्ष चेस राम्रा खेलाडीका रूपमा रहेका छन् । तीन वर्षअघि डेब्यु गरेका चेजले वेस्ट इन्डिजका लागि प्रभावशाली प्रदर्शन गरेका छन् । मलाई विश्वास छ, योपटक विश्वकपमा पनि उनले यस्तै प्रदर्शन गर्नेछन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर