
काठमाडौँ, चैत ११ गते । नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा मात्र ६७ हजार क्षयरोगका बिरामी फेला परेका हुन् । विश्वमा हरेक वर्ष करिब ८० लाख नयाँ क्षयरोगी थपिने तथ्याङ्क रहेको छ ।
जुन तथ्याङ्कले क्षयरोग अझै पनि विश्वकै प्रमुख सङ्क्रामक रोगमध्ये एकका रूपमा रहेको देखाउँछ । नेपालमा क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि चुनौती अझै कायम रहेको छ । हालसम्म देशका १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरी कार्यान्वयनमा ल्याइएको छ । जसले समुदायस्तरमै रोग पहिचान, उपचार र सचेतना अभिवृद्धिमा सहयोग पु¥याइरहेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले पछिल्ला वर्षमा नेपालले क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभर छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध रहेको छ । यसका साथै ७८५ स्वास्थ्य संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा रहेका छन् । जसले क्षयरोग पहिचानलाई थप सहज बनाएको छ । त्यसै गरी औषधी प्रतिरोधी (ड्रग रेसिस्टेन्ट) क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सरकारी प्रयास भए पनि ४२ प्रतिशत बिरामी उपचार पहुँचमा आउन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ५१ प्रतिशत बिरामी तथा तिनका परिवारले उपचार व्रmममा आर्थिक भार बेहोर्नु परेको बताउनुभयो ।
डा. पौडेलले सामाजिक भेदभाव, लाञ्छना र जनचेतना कमीका कारण पनि क्षयरोग नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो ।





