
नयाँ दिल्ली । भारतले कुवेतको सार्वभौमसत्ता र अखण्डतामाथि भइरहेका आक्रमणहरूको पुनः कडा शब्दमा निन्दा गरेको छ। पश्चिम एसियामा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कुवेती युवराज सबाह अल-खालिद अल-सबाहसँग टेलिफोन वार्ता गर्दै भारतको स्पष्ट धारणा राखेका हुन्।
गत फेब्रुअरी २८ देखि इरानविरुद्ध सुरु भएको अमेरिका र इजरायलको युद्धपछि मोदी र शेख सबाहबिच भएको यो दोस्रो संवाद हो। यस क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई लिएर मोदीले हालैका दिनहरूमा संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, जोर्डन, ओमान र कतारका शीर्ष नेताहरूसँग पनि निरन्तर छलफल गरिरहेका छन्।
सामाजिक सञ्जालमार्फत कुराकानीको जानकारी दिँदै प्रधानमन्त्री मोदीले पश्चिम एसियाको बदलिँदो अवस्था र हालैका घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले कुवेतको भौगोलिक अखण्डताको रक्षाका लागि भारत दृढ रहेको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि निरन्तर कूटनीतिक संलग्नता अनिवार्य रहेकोमा जोड दिएका छन्।
विशेष गरी विश्व व्यापारको लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजमा सुरक्षित र स्वतन्त्र नौवहन सुनिश्चित गर्नु भारतको प्रमुख प्राथमिकता रहेको मोदीले स्पष्ट पारेका छन्। इरानले उक्त मार्गमा सिर्जना गरेको अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति र सुरक्षामा पारेको प्रभावप्रति भारत सजग देखिएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री मोदीले आगामी इद-उल-फित्रको शुभकामना आदानप्रदान गर्दै कुवेतमा रहेका भारतीय समुदायको सुरक्षा र कल्याणका लागि त्यहाँको सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे। पश्चिम एसियाली मुलुकहरूमा करिब १ करोड भारतीय नागरिकहरू बसोबास गर्छन्, जसमध्ये कुवेतमा मात्रै १० लाखभन्दा बढी भारतीय छन्।
यो कुवेतमा रहेका विदेशी समुदायमध्ये सबैभन्दा ठूलो संख्या हो। इरानी ड्रोन र मिसाइल आक्रमणका कारण यस क्षेत्रका पूर्वाधारहरूमा क्षति पुग्दा केही भारतीयहरू समेत घाइते भएकाले उनीहरूको सुरक्षालाई लिएर भारतले पटक-पटक चिन्ता व्यक्त गर्दै आएको छ।
पछिल्लो समय इरान र इजरायल-अमेरिका युद्धका कारण पश्चिम एसियाको राजनीतिक र सैन्य सन्तुलन बिग्रिएको छ। प्रधानमन्त्री मोदीले साउदी युवराज मोहम्मद बिन सलमानदेखि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसम्मका नेताहरूसँगको वार्तामा पनि सुरक्षित समुद्री मार्ग र नागरिक सुरक्षाकै मुद्दालाई केन्द्रमा राखेका छन्।





