एस् ए टी भी २४ वैशाख, काठमाडौँः आज देशभर विभिन्न कार्यक्रम गरी ‘दसौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्रको प्रकाशन शुरू भएको दिनको अवसरमा हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाइन्छ।
सरकारले २०७३ देखि यो दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिएपछि वैशाख २४ मा मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ देखि गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित भएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव र प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसौँ पत्रकारिता दिवसले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन, जिम्मेवार पत्रकारिताको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अङ्गका रूपमा लिई यसको विकास र पत्रकारहरूलाई प्रोत्साहन गर्न योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको बताए।
‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ नाराका साथ यो दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रम आयोजना हुनेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दिउँसो १ बजे राष्ट्रपति भवन, शीतल निवासमा विशेष समारोह आयोजना गर्दैछ। सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार र सम्मान प्रदान गर्नेछन्।
मन्त्रालयका अनुसार, दुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिनेछ। यो सम्मानमा रु. दुई लाख र कदरपत्र छ। यस्तै, रु. एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार दिइनेछ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारितामार्फत राष्ट्रिय हित र जनतालाई सुसूचित गराउने पत्रकार र सञ्चार संस्थालाई सम्मान गरिनेछ।
राष्ट्रिय हित र जनसूचनामा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष प्रदान गरिने यी सम्मान र पुरस्कार यस वर्ष राष्ट्रपति पौडेलले प्रदान गर्नेछन्।
गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष र संस्थानको ६३औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ।