एस् ए टी भी १३ माघ, काठमाडौँः बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्। किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन्।
बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन्। विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ। कागतीखेती गर्न एक करोड ५० लाखभन्दा बढी रुपैयाँ लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए। गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ। यस वर्ष झण्डै पाँच लाख रुपैयाँको बिक्री गरेको अध्यक्ष सुवेदीले जानकारी दिए।
कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले छ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख रुपैयाँ अनुदान दिएको थियो। किसानले झण्डै एक करोड ३० लाख रुपैयाँ लगानी गरेको अध्यक्ष सुवेदी बताउँछन्। गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनले सुनाए।
अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्। गाउँमा बाँदर आतङ्क बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो। कागतीखेती गरेपछि बाँदर आतङ्क केही कम भएको छ। बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ। यस वर्ष पाँच लाख रुपैयाँको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेल दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको दावा गर्छन्। विसं २०७९ मा चक्लाबन्दीका लागि १० लाख रुपैयाँ र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए।
प्रमुख पौडेलले भने, “अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ।” विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन्।