एस् ए टी भी ११ माघ, काठमाडौं: चिनियाँ राजदूतावासको आयोजनामा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा रात्रिकालीन भोज तथा सांस्कृतिक प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल स्थित चिनियाँ कलाकर्मी तथा चीन बाट आएका कलाकर्मीहरूले विभिन्न प्रस्तुति पेस गरेका थिए।
वसन्त चाडको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा अध्यक्ष सम्माननीय देवराज घिमिरे, नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङ, नेपाल सरकार गृहमन्त्री रमेश लेखक, पूर्व प्रधानमन्त्री द्वय बाबुराम भट्टराई तथा झलनाथ खनाल, नेपालका तर्फबाट चीनका लागि पूर्व राजदूतहरू, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
हजारौँ वर्षको इतिहास भएको वसन्त चाड चिनियाँहरूको सबैभन्दा महत्त्वपूर्ण मध्य एक पर्व हो। नियन नामक राक्षसले दुख दिएको र त्यसलाई राता कपडा, आगो बाली भगाएको किंवदन्ती अनुसार वसन्त चाड मनाउने परम्परा रहिआएको छ।
नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले चिनियाँ नयाँ वर्षको शुभकामना प्रदान गर्दै नेपाल चीन दौत्य सम्बन्धका ७० वर्षको पनि शुभकामना व्यक्त गरे। माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाउने सम्पूर्ण नेपाली तथा नेपाल स्थित चिनियाँ नागरिकलाई विशेष शुभकामना प्रदान गरे। उनले भने," घर भन्दा टाढा रहेर आफ्नो कर्म गरिरहेका तपाईँहरू सबैलाई आफ्नोपनको कमी हुन कहिल्यै दिने छैनौँ। एउटा प्रयास स्वरूप आजको कार्यक्रम रहेको हो।" यस वर्ष नेपालको पर्यटनमा कोषे ढुङ्गो साबित हुनेमा विश्वास व्यक्त गरे किनभने नेपालले यस वर्षलाई नेपाल भ्रमण वर्षको रूपमा धूमधामले मनाउँदै छ र यस कार्यमा चीनले धेरै सहयोग र समर्थन गरेको छ।नेपाललाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको चीनले आगामी दिनमा अझै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए। चीन नेपाल जोड्ने सम्पूर्ण नाकाहरू पूर्ण रूपमा खुला भैसकेका बताउँदै उनले हरेक तरहले नेपाललाई सहयोग गर्न आफूहरू तयार रहेको बताए। यसले दुई देश बिचको सम्बन्ध अझै सुमधुर र दिगो बन्ने उनको विश्वास पनि रहेको थियो।
प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले सर्प वर्ष आफैँमा शीतलता तथा शक्तिको प्रतीक भएकाले हामीलाई पनि शान्त रहेर शक्तिशाली रहन मद्दत पुर्याउने बताउँदै सम्पूर्णमा नयाँ वर्षको शुभकामना व्यक्त गरे। साथै नेपाल तथा चीनको मैत्री सम्बन्धका ७० वर्ष पुगेको अवसरमा दुई देश बिचको सम्बन्धमा अझै मधुरता आउनेमा उनको विश्वास थियो। नेपालको समग्र विकासमा चीनले धेरै सहयोग पुर्याएको र नेपाली र चीनका बिच सांस्कृतिक समानता रहेको पनि उनले बताए। नयाँ वर्षले दुई देशको सम्बन्ध अझै नयाँ उचाइमा लैजाने पनि उनले आशा व्यक्त गरेका थिए।
कार्यक्रममा हुवावे नेपालका तर्फबाट विभिन्न प्राविधिक प्रदर्शनी पनि भएको थियो। हुवावे नेपालका अग्रणी प्राविधिक संस्थाहरु मध्ये एक हो।
कार्यक्रममा चीनबाट आएका विभिन्न वाङ्मय टोलीहरूले सुरम्य सङ्गीत तथा नृत्य पेस गरेका थिए। उत्कृष्ट प्रस्तुतिहरूले कार्यक्रममा उपस्थित हरेकको मन पुलकित बनाएको थियो। नयाँ वर्षको रङ्गिन समयमा प्रस्तुत गरिएका सुन्दर वाद्यवादन तथा प्रस्तुतिहरूले माहौल असाध्यै सोमाञ्चीत बन्न पुगेको थियो।