नेभिगेसन मेनु

उल्कै तात्यो चुरे भेग
सम्पादक:南亚网络电视
समय:2024-05-04 11:55

Untitled-1-Recovered (1)

वैशाख २२ गते । सर्लाहीको चुरे भेगका बस्ती खानेपानी समस्याले काकाकुल बनेका छन् । बढ्दो खडेरीका कारण त्यस भेगमा रहेका धारा, इनार र कुवा सुकेपछि खानेपानीको समस्या चुलिएको हो । चुरे पाखामा बसोबास गर्ने स्थानीय पिउने पानीको जोहोमा रातदिन भौँतारिन थालेका छन् । 

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका युवा रोशन दोङले खडेरीले बालीनाली सबै सुकेर बर्बाद भएको र पिउने पानीको समेत हाहाकार मच्चिएको जानकारी दिनुभयो । “बालीनाली सुकेर केही छैन, यही बेला खानेपानीको पनि चरम समस्या भइरहेको छ,” दोङले भन्नुभयो, “खोला, खोल्सीमा ठाउँ ठाउँमै कुवा खोस्रिएर प्यास मेटाइरहेका छौँ ।” दोङले लामो समयदेखि आकासे वर्षा नहुँदा खोला, खोल्सामा पानी रसाउन छाडेको जानकारी दिनुभयो । पानीका स्रोत सुक्दा चुरेको दुर्गम भेगमा बसोबास गर्ने स्थानीय पानीकै लागि घण्टौँ धाएर टाढा टाढासम्म पुग्न बाध्य भएका छन् । 

हरेक वर्ष हिउँदका याममा चुरे भेगमा पर्ने परवानीपुर, कालिन्जोर, नारायणखोला, ढुङ्ग्रेखोला, अत्रौलीलगायत क्षेत्रमा खानेपानीको चरम समस्या हुने गरेको छ । पानी नहुँदा स्थानीयलाई सरसफाइ गर्न र वस्तुभाउ बचाइराख्नसमेत समस्या पर्न थालेको छ । 

ईश्वरपुर नगरपालिका–१२, शिर फूलजोरका पूर्णबहादुर थिङले यो वर्ष चुरे भेगमा समेत अत्यन्त तातो हावा चलेर पानीका मुहान सबै सुक्दा दैनिकी गुजार्न नै अप्ठेरो परेको दुःखेसो पोख्नुभयो । “चुरे भेगमा यति साह्रो गर्मी र तातो हावा महसुस भएको थिएन तर यो वर्ष त उल्कै भयो,” थिङले भन्नुभयो, “वैशाख जान लाग्दा बारी सबै बाँझो नै बसेको छ, पानी नपाएर मान्छे र वस्तुभाउ टिक्नै गाह्रो पर्न थालिसक्यो ।” 

यो वर्ष चुरेकाछमा नै खोला सुकेका छन् । चुरे भेगमा आकासे वर्षाबाहेक अन्य विकल्प पनि छैन ।  

लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले चुरे भेगमा खानेपानीका मुहान सुक्न थालेको गुनासो आउन थालेको बताउनुभयो । “देउराली क्षेत्रमा पानी सुक्यो भन्ने गुनासो आएको छ, चुरेपाखाका अन्य भेगमा पनि यो याममा खानेपानीको धेरै नै समस्या हुन्छ,” वडाध्यक्ष बलले भन्नुभयो, “हामीले सम्भव भएसम्मका ठाउँमा पानी पु-याइरहेका छौँ तर चुरेको भूगोल ठुलो भएकाले सबैतिर लिफ्टिङ गरेर पानी पु-याउनै गाह्रो छ ।” 

वडाध्यक्ष बलले वडा नं. १५ को अर्नेडाँडा र बाहुनेडाँडामा लिफ्टिङ गर्दा पनि भूगोल असाध्य विकट रहेकाले खानेपानी पु-याउन अत्यन्त चुनौती रहेको बताउनुभयो । चुरेका केही बस्तीमा पालिका आफैँले तथा खानेपानीको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी खानेपानी पु-याएका छन् । यस्तै लामो समयदेखि पानी पर्न नसक्दा पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगका गाउँमा चापाकल सुक्दा खानेपानीको समस्या बढ्दो छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर