नेभिगेसन मेनु

विद्यालयको नतिजा निराशाजनक
सम्पादक:南亚网络电视
समय:2024-05-01 12:50

jaljala-edu-news-photo-(19)

वैशाख १९ गते । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत  विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । 

गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो । 

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये १५६ जना विद्यार्थी कक्षा ८ अनुत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

परीक्षा सञ्चालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी  अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षाको सबै प्रक्रिया पूरा गरेकाले वास्तविक नतिजा आएको उहाँले बताउनुभयो । सबै उत्तरपुस्तिकालाई गाउँपालिका केन्द्रमा सङ्कलनपश्चात् कोर्डिङ गरेर विषय विशेषज्ञ शिक्षकबाट उत्तरपुस्तिका जाँचेर नतिजा सार्वजनिक गरिएकाले अघिल्लो वर्षभन्दा यस वर्षको नतिजा फरक आएको उहाँको भनाइ छ । 

गाउँपालिकाले दिएको जानकारी अनुसार शालिजा माध्यमिक विद्यालयबाट १४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै अनुत्तीर्ण भएका छन् । यस्तै नौ जना विद्यार्थी सहभागी भएको ज्योति माविका सबै विद्यार्थी अनुत्तीर्ण भए । यस्तै विद्याज्योति माविबाट ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये एक जना मात्र उत्तीर्ण भए । कृष्ण भवन धर्म माविमा १२ जनाले परीक्षा दिएकोमा एक जना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिनुभयो । बनौँ माविमा १५ जना सहभागी भएकोमा तीन जना मात्र उत्तीर्ण भए । शिव माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण भए । शान्ति आधारभूत विद्यालयमा छ जनाले परीक्षा दिएकोमा दुई जना मात्र उत्तीर्ण भए । फर्से धाइरिङ माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण भए । ज्योति मण्डल माविमा १३ जनामा आठ जना विद्यार्थी उत्तीर्ण भए । यसै गरी लुङ्दी आधारभूत विद्यालयमा १३ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये तीन जना मात्र उत्तीर्ण भए । जनकल्याण माविमा २५ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएका छन् । ग्राम प्रकाश माविमा २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा आठ जनाले मात्र कक्षा ८ उत्तीर्ण गरेको शिक्षा शाखाले जनाएको छ ।  

यस्तै संस्थागत विद्यालयको नतिजा पनि सन्तोषजनक देखिएको छैन । न्यु होराइजन माविमा २३ जनाले परीक्षा दिएकोमा १३ जना उत्तीर्ण भए । अमृत आदर्श माविमा २१ जनामा १८ विद्यार्थी उत्तीर्ण भए । कक्षा ८ को नतिजालाई मूल्याङ्कन गर्दा अत्यन्त निराशाजनक स्थिति देखिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ८ को नतिजालाई गम्भीर रूपमा लिएका छौँ । नतिजाले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि ठोस कदम चाल्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।” उहाँका अनुसार अन्य कक्षाको नतिजा पनि राम्रो नदेखिएको बताउनुभयो । 

शिक्षा अधिकृत लामिछानेले भन्नुभयो, “नतिजा वास्तविक आएको छ । नतिजाले सबैलाई झस्काइदिएको छ । आगामी दिनमा सुधार गर्ने ठोस योजना बनाउन आवश्यक छ ।” कोभिड–१९ को प्रभाव र अघिल्ला वर्षमा स्वतः पास हुने प्रचलनका कारण विद्यार्थीमा पठन संस्कृति ह्रास हुँदै जानुले नतिजा निराशाजनक देखिएको शिक्षा अधिकृत लामिछानेको भनाइ छ ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले कक्षा ८ को नतिजा निराशाजनक देखिएपछि विश्लेषण र आगामी शैक्षिक कार्ययोजनाका बारेमा सरोकारवालाबिच बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रिमको आयोजनासमेत गरेको जानकारी दिनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर