नेभिगेसन मेनु

लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने पक्का
सम्पादक:南亚网络电视
समय:2024-04-24 12:23

lagani-final2024-04-24-06-11-30

आसन्न तेस्रो लगानी सम्मेलनमा ५२ विदेशी मुलुकका ६३४ लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवालाहरूले सहभागिताको सुनिश्चित गरेका छन् । सरकारले सम्मेलनमा सहभागिताका लागि एक हजार नौ सयभन्दा बढी विदेशी सम्बन्धित व्यक्तित्वहरूलाई निम्तो पठाएकोमा मंगलबारसम्म ६३४ जनाले सहभागी हुने जवाफ पठाएका हुन् ।

तर, निम्तो स्वीकार गर्ने क्रम बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसार सहभागिताका लागि जवाफ पठाउनेमध्ये अधिकांश लगानीकर्ता र व्यावसायिक व्यक्ति छन् । 

सरकारले आगामी १६ र १७ वैशाखमा लगानी सम्मेलन गर्दै छ । त्यसमा न्यूनतम एक हजार लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला उपस्थिति गराउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार उपस्थिति हुने पक्का भएको छ । नेपालबाट सहभागी हुने ३८५ समेत जोड्दा एक हजार १९ व्यक्ति सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको छ । यसमा अनलाइनबाट आफैँ नाम दर्ता गरेका थप लगानीकर्ता, उद्योगी, व्यावसायिक व्यक्ति तथा सरोकारवालाहरू थपिनेछन् । हाल अनलाइनबाट नाम टिपाएका आवेदकहरूको छनोट गर्ने काम पनि भइरहेको बोर्डले जनाएको छ । 

बोर्डको तथ्यांकअनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउने देखिन्छ । हालसम्म चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । त्यस्तै जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३/१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् । दक्षिण एसिया र अस्ट्रेलियाबाट ९/९, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच,  साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीन/तीनजना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायतका देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् । 

विश्वका १७ अर्बपतिलाई निम्तो : सहभागी हुन नसक्ने ज्याक मा र जेफ बेजोसको जवाफ, अन्यको जवाफ आएन 

विदेशबाट ६ सय बढी लगानीकर्ता नेपाल आउने सुनिश्चित हुँदा धनाढ्य  अर्थात् अर्बपतिहरूले भने निम्तो स्वीकार गरेका छैनन् । सरकारले विभिन्न कूटनीतिक नियोगमार्फत गत माघमै एलन मस्क, गौतम अडानी, ज्याक मा, मार्क जुकरवर्ग, जेफ बेजोसजस्ता १७ अर्बपतिलाई लगानी सम्मेलनमा सहभागी हुन निम्तो पठाएको थियो । उनीहरूलाई वक्ताकै रूपमा आमन्त्रण गरिएको थियो । तर, ज्याक मा र जेफ बेजोसले भने सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराए पनि अन्य १५ जनाले कुनै जवाफ नपठाएको बोर्डका एक अधिकारीले जानकारी दिए । 

भारतीय अर्बपति गौतम अडानीले पनि अहिलेसम्म कुनै जवाफ पठाएका छैनन् । गत पुसमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत भारत भ्रमणमा जाँदा अडानीसँग भेटवार्ता भएको थियो । त्यसक्रममा अडानीले लगानी सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेका थिए । त्यसपछि उनलाई औपचारिक निम्तो पनि पठाइएको थियो । तर, त्यसको जवाफ अझै प्राप्त भएको छैन । सत्तासमीकरण परिवर्तनसँगै अर्थमन्त्री परिवर्तन भएका कारण अडानी आउन नचाहेको हुन सक्ने बोर्डविज्ञहरू बताउँछन् । हाल माओवादी नेता वर्षमान पुन अर्थमन्त्री छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर