
। पत्रकारितामा कृत्रिम बुद्धि (एआई) प्रविधिको प्रयोगलाई व्यावहारिक र प्रभावकारी बनाउने उद्देश्यले ललितपुरको जावलाखेलस्थित बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयमा तीनदिने कार्यशाला मङ्गलबारदेखि सुरु भएको छ ।
कार्यशाला उद्घाटन गर्दै सञ्चार रजिस्ट्रार रेवती सापकोटाले एआई पत्रकारिताको विकल्प नभई पत्रकारको कामलाई सहज, छिटो र प्रभावकारी बनाउने सहयोगी प्रविधि भएको बताउनुभयो । उहाँले पत्रकारितामा एआई प्रयोग गर्दा यसको उपयोगिता, सम्भावना र सीमाबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा सहभागी पत्रकारले एआई प्रविधिको प्रयोगबारे रहेका अन्योल र जिज्ञासा समाधान गर्न प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सिपलाई आफ्नो दैनिक पत्रकारिता अभ्यासमा उपयोग गर्नुपर्ने धारणा राखेका छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा एआई प्रशिक्षक अजय शर्मा र शिव पुरीले प्रशिक्षण दिइरहनुभएको छ । कार्यशालामा एआईको सैद्धान्तिक पक्षसँगै समाचार लेखन, सम्पादन, तथ्य जाँचलगायतका पत्रकारिताका विभिन्न काममा यसको व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिइने बताइएको छ ।


















