
काठमाडौँ, वैशाख १७ गते । नयाँ सरकार गठनसँगै बन्द रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलसँग आश्रित पूर्व कर्मचारी र तिनका परिवारमा फेरि आशा जगाएको छ। नेपालको पहिलो उद्योग ‘विराटनगर जुटमिल’ सञ्चालनको विषय सर्वसाधारणको चासो र राजनीतिक दलहरूको भाषणको मुख्य एजेन्डा बन्दै आएको छ। तर राजनीतिक तहमा गरिने आश्वासन र मिलको वर्तमान अवस्था भने निकै फरक देखिन्छ। खिया लागेका मेसिन, जीर्ण पूर्वाधार तथा पूर्व कर्मचारी, विद्युत् र अन्य दायित्वका कारण यो ऐतिहासिक उद्योग पुनः सञ्चालन गर्नु सहज देखिँदैन।
झन्डै एक दशकदेखि पूर्ण रूपमा बन्द रहेको यस मिलका दुवै प्लान्टका मेसिनरी अहिले प्रयोगयोग्य छैनन्। लामो समयदेखि नचल्दा मेसिनहरू खिया लागेर कवाडी सरह भएका छन्। मिल परिसरका खुला ठाउँहरू झाडीले ढाकिएका छन् भने भौतिक संरचनाहरू जीर्ण बनेका छन्। कतिपय महत्त्वपूर्ण पार्टपुर्जा चोरी भएका छन् र बाँकी रहेका उपकरण पनि प्रविधिगत रूपमा पुराना भइसकेकाले वर्तमान बजारमा प्रतिस्पर्धा गर्न सक्षम छैनन्।
उद्योगका पूर्व प्रशासक तारानाथ तिम्सिनाका अनुसार मिलको वर्तमान अवस्था हेर्दा सामान्य मर्मतबाट सञ्चालन सम्भव छैन। उहाँ भन्नुहुन्छ, “उद्योग सञ्चालन गर्न नयाँ उद्योग स्थापना गर्नुभन्दा केही कम खर्च लाग्ला, तर प्रतिस्पर्धी बनाउन डेढदेखि दुई अर्ब रुपैयाँभन्दा कममा सम्भव छैन।” उहाँका अनुसार पुराना मेसिन मर्मत गरेर उत्पादन सुरु गरे पनि आधुनिक बजारअनुसार गुणस्तरीय जुट उत्पादन सम्भव छैन। त्यसैले मेसिन प्रतिस्थापन र संरचना पुनर्निर्माण अपरिहार्य छ।





