एस् ए टी भी २५ साउन २०८२, काठमाडौँः गत आर्थिक वर्ष (२०८१/८२) अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए । आर्थिक वर्ष (२०८०/८१) मा लेक लागेर अन्नपूर्ण क्षेत्रामा ज्यान गुमाउने पर्यटकको संख्या २० थियो। यातायातको पहुँच विस्तार भएसँगै उच्च हिमाली भेगमा छोटो समयमा उक्लिँदा पर्यटकले ज्याननै गुमाउनुपरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
एक्यापका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर ज्यान गुमाएका २० जनामध्ये नेपाली पाँच, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेसियाका दुई जना पर्यटक थिए।
त्यसैगरी आर्थिक वर्ष (२०८१/८२) मा लेक लागेर ज्यान गुमाएका १८ मध्ये नेपाली ६, भारतीय आठ, अमेरिका, कोरिया, जर्मन र स्विजरल्यान्डका एकएक जनाले ज्यान गुमाएका थिए।
एक्याप प्रमुख रविन कडरियाका अनुसार छोटो समयमा हतारको यात्राले पर्यटकलाई लेक लाग्ने जोखिम बढेको छ। ‘पर्यटकलाई बिहान पोखराबाट लगेर दिउँसो मुक्तिनाथ दर्शन गराएर बेलुकी पोखरा फिर्ता ल्याउने गरी हतारको यात्रा गराइन्छ,’ कडरियाले भने, ‘होचो ठाउँमा बसेका पर्यटकलाई एकैपटक उच्च भेगमा उकाल्दा उनीहरूको शरीरले त्यहाँको उचाइसँग मेल खान सक्दैन, जसले गर्दा ज्यानै जानेसम्मका घटना हुने गरेका छन्।’
पर्यटकलाई हतारको यात्रा नगरी मुस्ताङ गएका पर्यटकले कम्तिमा एक दिन मुस्ताङको जोमसोम तथा मनाङ जानेहरू मनाङको मनाङ गाउँमा बस्नुपर्ने कडरियाको सुझाव छ। कतिपय पर्यटक हतार गरेर पोखराबाट बिहान सबेरै हिँडेर दिउँसो मुक्तिनाथ पुगिसक्छन्।
त्यस्तै मनाङतिर पनि तिचिलो यात्रामा जाने पर्यटकले यात्रालाई कम समयमा पूरा गर्ने गरी माथिल्लो भेगसम्म उक्लिँदा जोखिम निम्तिने गरेको उनले बताए। ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न,’ उनले भने।
‘मुस्ताङको जोमसोम र मुनाङको मनाङ गाउँमा कम्तिमा एक रात आराम गरेर त्यसभन्दा माथिको यात्रा गर्ने हो भने यो समस्या केही कम हुन्छ। अहिले गाडीको यात्राले गर्दा यस्तो अवस्था आएको हो,’ उनले भने, ‘मोटरबाटो विस्तार हुनुअघि यस्तो समस्या कम थियो। किनभने पर्यटकले हिँडेरै पदयात्रा पूरा गर्थे। अहिले गाडी गुड्ने सडकमा त्यो बेला पैदल हिँडेर पूरा गर्दा लेक लाग्ने जोखिम कम हुन्थ्यो।’
एक्यापका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय छन्। ती भारतीयले मुस्ताङमै ज्यान गुमाएका हुन्। भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न जाने र उनीहरूमध्ये अधिकांश वृद्धवृद्धा भएकाले पनि जोखिम बढी रहेको कडरियाले बताए।
‘आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भन्ने पहिचान गरेर मात्र उच्च भेगमा उक्लनुपर्छ। स्वास्थ्यमा समस्या भएमा यात्रा रोक्नुपर्ने हुन्छ,’ उनले भने, ‘व्यवसायीले पनि हतारको यात्रा नगराउने हो भने यो समस्या कम भइहाल्छ।
कतिपय पर्यटन व्यवसायीले पोखराबाट बिहान सबेरै पर्यटकलाई लिएर जोमसोम उकाल्ने र मुक्तिनाथ दर्शन गराउने र बेलुकी पोखरा फिर्ता ल्याउने गरी हतारको यात्रा गर्दा समस्या थपिएको उनको भनाइ छ।
समुद्री सतहको २५ सय मिटरभन्दा माथिल्लो क्षेत्रमा उक्लिँदा लेक लाग्ने जोखिम हुुनसक्ने पनि उनले बताए। मुक्तिनाथ तीन हजार सात सय १०, तिलिचो चार हजार नौ सय १९ र थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइमा पर्छ।
यसैबीच होटल संघ गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पु¥याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवालासँग अपिल गरेको छ।
खासगरी नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पु¥याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विज्ञप्ति जारी गरी जनाएको छ।
संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैरेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालासमक्ष अपिल गरिएको छ।
‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्राको प्रवृत्ति नअपनाउन हामी सुझाव दिन्छौं। यस्तो जोखिमपूर्ण प्रवृत्ति न्यूनीकरण गर्न सरकारीस्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन अनुरोध छ। यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन समेत मदत पुग्नेछ’, संघको अपिलमा भनिएको छ।
पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउनेजाने गर्छन्। अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकको पोखराबाटै मुख्य यात्रा सुरु हुन्छ। पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षा निकै महत्त्वपूर्ण हुने शर्माले बताए। पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकको ठूलै संख्या भेटिन थालेको संघले बताएको छ।
‘समुन्द्र सतहबाट एकसय मिटर हाराहारीको उचाइको तराई क्षेत्रबाट आठ सय मिटर उचाइको पोखरा उक्लिएर उही दिन तीन हजार सात सय १० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो,’ संघका अध्यक्ष शर्माले भनेका छन्, ‘होचो स्थानबाट एकैदिन एकतर्फी साढे तीन सय किलोमिटर भन्दा लामो अनि उचाइतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक र धपेडीपूर्ण मात्र नभई रात्री समयको कुदाइ अन्यन्त जोखिमयुक्त हुन पनि सक्छ।’
यस्तो कार्यले एकातिर लेक लागेर पर्यटकको ज्यान जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ।