
बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो ।
पेसाले शिक्षक महराका श्रीमती र छोराछोरी डडेल्धुराका लागि घरबाट निस्किएका थिए । तर घरभन्दा केही पर नपुग्दै पाँच जना सवार सुपप्र ०१–००१ह७९९८ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको खबर आयो । भिरमा खसेको अटोमा सवारमध्ये भतिज विक्रम महरा सकुशल भेटिए भने अन्य चार जनाले ज्यान गुमाए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा महराकी श्रीमती २६ वर्षीया राजमती महरा, उनका ७ वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु बताए । घटनास्थलको काम सकेर उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
अटो चालक बुङ्गल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताएका छन् । उनले आफू र एक बालकले हाम फालेर ज्यान जोगाएको बताएका छन् ।
मृतक राजमतीका श्रीमान् दीपक स्थायी शिक्षक हुन् । उनी यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा पढ्दै थिए ।
गत साउनमा दीपकको सरुवा बझाङको बुङ्गल नगरपालिका–८ को सत्य माध्यमिक विद्यालय, तोलीचौरमा भएको थियो । वडाध्यक्ष प्रेम ओखेडाका अनुसार उनले यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र आगामी शैक्षिक सत्रदेखि आफूसँगै राखेर पढाउने योजना बनाएका थिए ।
तर, परिवारसँगै बस्ने उनको सपना पूरा नहुँदै दुर्घटनाले श्रीमती र छोराछोरीसहित चार सदस्य खोसेको छ ।
ओखेडाका अनुसार उनीहरू दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै थिए ।
दुर्घटनाको खबरले गाउँ नै शोकमा डुबेको छ । परिवारलाई आफूसँगै राखेर छोराछोरीको भविष्य बनाउने सपना देखेका दीपकका लागि यो दुर्घटनाले सहनै नसकिने पीडा दिएको छ ।


















