
काठमाडौँ, फागुन ११ गते । मिथिला माध्यमिकी परिक्रमा सोमवार महोत्तरीको कञ्चनवन पुगेका छन्। कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तहरुले प्रत्येक वर्ष होली खेल्ने गर्छन्। सोही परम्परा अनुसार यसवर्ष पनि परिक्रमा विश्रामको क्रममा होली खेलिनेछ। मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुवात हुने मानिदै आएको छ ।
ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताउनुभयो । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ ।
नगर प्रमुख साह का अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भने होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । रङ, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताउनुभयो।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रङ अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रङ, अविर लगाएर होली खेल्ने गर्दछन् । कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्रा्राम गर्ने गर्दछन् ।
फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रवकुण्ड पुगेका थिए ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गरिरहेका छन् ।
कञ्चनवन पश्चात पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन् ।
यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।





