नेभिगेसन मेनु

कोशी सरकारविरुद्धको मुद्दा : न्यायाधीशहरू प्रस्ट हुन चाहेका तीन प्रश्न
सम्पादक:南亚网络电视
समय:2024-06-25 13:47

कोशी सरकारविरुद्धको मुद्दा : न्यायाधीशहरू प्रस्ट हुन चाहेका तीन प्रश्न

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार जवाफी बहस हुँदैछ ।

सम्भवतः यो मुद्दामा मंगलबार नै फैसला आउने छ । सर्वाेच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपछि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ भइरहेको छ । पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो ।

सोमबार सरकारी वकिलहरूले पनि मुख्यमन्त्रीको बचाउमा बहस गरेका थिए । बहसका क्रममा न्यायाधीशहरूले पटकपटक इजलासमा केही प्रश्न निरन्तर सोध्दै आएका छन् ।

न्यायाधीशहरूले रिट निवेदक, विपक्षी र सरकारी वकिलहरूलाई सोधेको साझा प्रश्न तीन वटा विषयमा केन्द्रित थिए । न्यायाधीशहरूले सोधेको पहिलो प्रश्न थियो– कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले उनीपछि अर्को मुख्यमन्त्री सोही उपधारा अनुसार बन्न मिल्छ कि मिल्दैन ?

त्यस्तै न्यायाधीशहरूले उत्तर चाहेको अर्को प्रश्न थियो–उपधारा ५ अनुसारको मुख्यमन्त्रीले एक पटक विश्वासको मत पाएपछि पुनः २ वर्षसम्म लिन पर्छ कि पर्दैन ?

त्यस्तै तेस्रो प्रश्न थियो– सङ्कल्प प्रस्तावका आधारमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सक्छ कि सक्दैन ?

न्यायाधीशहरूले यही प्रश्न रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र शम्भु थापालाई सोधेका थिए भने सरकारका तर्फबाट बहस गरेका नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई पनि सोधेका थिए । त्यस्तै मुख्यमन्त्री एवं विपक्षी हिक्मतबहादुर कार्कीको तर्फबाट बहस गरेका अधिवक्ता माधवकुमार बस्नेतलाई पनि सोधेका थिए ।

न्यायाधीशहरू रेग्मी, मुसलमान र सुवेदीले पालोपालो गरी यी प्रश्नमा प्रस्ट हुन खोजेका थिए । यो प्रश्न आज हुने जवाफी बहसका क्रममा पनि न्यायाधीशहरूले उठाउने देखिन्छ ।

रिट निवेदनको विपक्षमा बहस गरेकाहरूले रिट खारेज हुनुपर्ने जिकिर गरेको कुराका साथै यी प्रश्नहरूका फैसला सुनाउनु अघि उनीहरू प्रश्न हुन चाहेका छन् ।

कोशी प्रदेशको सरकार अब कसको हुने छ भन्नेमा सर्वोच्चले आज सुनाउने फैसलामा निर्भर हुने देखिन्छ । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्कने छन् भने रिट खारेज हुने फैसला भएमा वर्तमान मुख्यमन्त्री कार्कीले नै निरन्तरता पाउने छन् । 

 
 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर