एस् ए टी भी २८ वैशाख, काठमाडौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।
आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका हुन्।
उनले आजको चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
'हामी किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको सुरू गर्न प्रस्ताव गर्छौं,' क्रेमलिनबाट पुटिनले भने,' किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि प्रस्ताव गर्छौं।'
उनले त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्किका राष्ट्रपति तयिप एर्दोगानलाई भनेको पनि बताएका छन्। एर्दोगान रूस-युक्रेन युद्धविरामको पहलका लागि तयार भएको जबाफ एर्दोगानले दिएको पुटिनले बताएका छन्।
'हाम्रो प्रस्ताव उनीहरूले भनेझै टेबलमा छ। अब निर्णय युक्रेनी अधिकारीहरूको हातमा छ, जो जनताको हितमा होइन आफ्नो व्यक्तिगत र राजनीतिक महत्वाकांक्षाबाट निर्देशित देखिन्छन्,' पुटिनले अगाडि भनेका छन्।
पुटिनको उक्त प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले लेखेको छ।
पुटिनले रूस शान्तिको पक्षमा छ भन्ने कुरा विभिन्न अवसरमा घोषणा गरिएका अस्थायी युद्धविरामहरूले पुष्टि गर्ने बताएका छन्।
ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रतिबद्धता, इस्टरका अवसरमा गरिएका युद्धविराम र हालै दोस्रो विश्वयुद्धमा विजयी भएको ८० वर्ष पुगेको अवसरमा गरिएका ७२ घन्टाको युद्धविराम रूसले गरेको पुटिनले बताए।
तर ती सबै युद्धविरामको उल्लंघन युक्रेनले गरेको उनको आरोप छ।
पुटिनले मे महिनामा युक्रेनले रूसमाथि ५२४ ड्रोन, ४५ समुद्री ड्रोन र उत्तिकै संख्यामा मिसाइलहरू प्रहार गरेको बताएका छन्। रूसका पाँच क्षेत्रलाई लक्ष्य गरी प्रहार गरिएका ती आक्रमणहरू निस्तेज पारिएको पनि पुटिनले बताएका छन्।
रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आएका छन्।
अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।
तर ती वार्ताहरूबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पटक-पटक पुटिनसँग लामा-लामा छलफल गरेर युद्धविराम सहमतिका लागि प्रयत्न गरेका थिए। तर सफल हुन सकेको छैन।
रूसले युक्रेनसँग हाल कायम रहेका नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको यसअघि नै बताएको थियो।
ट्रम्पले त्यसलाई सम्झौताका लागि रूसले देखाएको अहिलेसम्मको लचकता भनेका थिए।
यद्यपि क्राइमिया लगायतका क्षेत्रमा रूसी स्वामित्व हुने विषय स्वीकार्य नरहने युक्रेनको अडान छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक कार्यक्रममा क्राइमियालाई युक्रेनले रूसी भूभाग भनेर नचिन्ने बताएपछि ट्रम्मले जेलेन्स्कीलाई गाली गरेका थिए।
उनले जेलेन्स्कीको त्यस्तो अभिव्यक्तिले नजिक नजिक पुगेको शान्ति सम्झौता फेरि भाडिन सक्छ भनेर सचेत गराएका थिए।
क्राइमिया यसअघि नै बाराक ओबामाको पालामा युक्रेनले रूसलाई हस्तान्तरण गरेको बताएर ट्रम्पले जेलेन्स्कीलाई त्यतिबेला किन नलडेको भनेर प्रश्न समेत गरेका थिए।
पछिल्लो समय अमेरिका र युक्रेनबीच खनिज सम्झौता भइसकेको छ।सम्झौतापछि युक्रेनको विकासका लागि संयुक्त लगानी कोषसमेत स्थापना पनि भएको छ।