नेभिगेसन मेनु

भारतको निजी कम्पनी नेपाली बिजुली किन्न इच्छुक : टाटा पावरले पठायो दैनिक २०० मेगावाट किन्ने प्रस्ताव
सम्पादक:南亚网络电视
समय:2024-05-24 12:03

tata2024-05-23-07-51-30

भारतको निजी क्षेत्रले पहिलोपटक नेपालबाट बिजुली किन्ने प्रस्ताव पठाएको छ । टाटा पावरले यही बर्खामा दैनिक दुई सय मेगावाट बिजुली किन्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पठाएको हो । तीन वर्षदेखि विद्युत् प्राधिकरणले भारतको दुई सरकारी कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) र पावर ट्रेड  कर्पोरेसन (पिटिसी) इन्डियामार्फत भारतमा विद्युत् निर्यात गरिरहेको छ । बर्खामा पर्याप्त मात्रामा बिजुली दिन सक्ने प्राधिकरणको पत्रपछि भारतीय निजी कम्पनीले पनि इच्छा देखाएको हो । प्राधिकरणले बर्खामा दैनिक १२ सय मेगावाटसम्म बिजुली भारतलाई दिन सक्ने प्रस्ताव पठाएको थियो । सरकार र निजी क्षेत्र साझेदार (बिटुजी मोडेल)मा विद्युत् किन्ने टाटाको प्रस्ताव छ । 

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले भारतको टाटा पावरबाट विद्युत् किन्ने प्रस्ताव आएको जानकारी दिँदै निर्यातका लागि सकारात्मक रहेको बताए । ‘अहिले भारतको सरकारी कम्पनीसँग मात्रै विद्युत् व्यापार भइरहेको छ । तर, त्यहाँको निजी क्षेत्रको कम्पनीले पनि विद्युत् किन्ने प्रस्ताव पठाएको छ,’ उनले भने, ‘त्यो प्रस्ताव हामीले यसै हप्ता नेपाल विद्युत् प्राधिकरणमा पठाएका छौँ ।’

नेपालभित्र र अन्तरदेशीय विद्युत् व्यापार गर्ने अधिकार प्राधिकरणलाई मात्रै छ । त्यसैले यससम्बन्धी आवश्यक कामकारबाही प्राधिकरणले नै अगाडि बढाउने ऊर्जासचिव सुशीलचन्द्र तिवारीले बताए । टाटा पावरले भारतका सरकारी कम्पनीले दिइरहेकोभन्दा बढी मूल्य दिने गरी विद्युत् किन्ने प्रस्तावसमेत गरेको छ । अहिले प्राधिकरणले खुला बजारबाहेकको अवस्थामा एनभिभिएन र पिटिसी इन्डियासँग प्रतियुनिट ५.२५ भारु (८ रुपैयाँ ४० पैसा) मा मध्यकालीन मोडेलमा विद्युत्् बिक्री गरिरहेको छ । टाटाले त्योभन्दा बढी प्रतियुनिट ५.९० भारु (९ रुपैयाँ ४४ पैसा) दिने प्रस्ताव पठाएको छ । जुन हाल कायम दररेटभन्दा प्रतियुनिट एक रुपैयाँ चार पैसा बढी हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंह भन्छन्–अहिले भारतको सरकारी कम्पनीसँग मात्रै विद्युत् व्यापार भइरहेको छ । तर, त्यहाँको निजी क्षेत्रको कम्पनीले पनि विद्युत् किन्ने प्रस्ताव पठाएको छ । त्यो प्रस्ताव हामीले यसै हप्ता नेपाल विद्युत् प्राधिकरणमा पठाएका छौँ ।

टाटाले आगामी तीनदेखि पाँच वर्षसम्म बर्खायाम (जुनदेखि अक्टोबरसम्म) मा बिजुली किन्ने र पश्चिम बंगाल राज्यमा विद्युत् बिक्री गर्ने प्रस्तावमा उल्लेख गरेको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले टाटाको प्रस्तावबारे पर्याप्त जानकारी नभएको, तर टाटाबाट प्रस्ताव आएको भए मुलुकका लागि धेरै सकारात्मक भएको बताए ।

‘टाटाको प्रस्ताव आएको भए कार्यान्वयनका लागि केही प्रक्रियागत चुनौती हुन सक्छ । किनकि, भारत सरकारले त्यहाँको खुला बजारमा विद्युत् व्यापार गर्न एनभिभिएन र प्रदेश (राज्य)हरूमा विद्युत् व्यापार गर्न पिटिसी इन्डियालाई एजेन्सीको रूपमा तोकिदिएको छ । तीबाहेकका संस्थाबाट विद्युत्् व्यापार गर्न मिल्दैन । त्यसले केही चुनौती देखिन्छ,’ उनले भने । पुरानो सर्तमा संशोधन गरेर निजी क्षेत्रलाई समेत बिजुली बिक्री गर्न सके राम्रो हुने उनको भनाइ छ ।

प्राधिकरणले ०७८ को बर्खादेखि भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । त्यसमा प्राधिकरणले पहिले भारतको ‘डे अहेड’ बजारमा प्रतिस्पर्धी मूल्यमा मात्रै विद्युत् बिक्री गर्दै आएको छ । 

भारतको निजी  क्षेत्रसँग २२ सय मेगावाट निर्यातको समझदारी

नेपाल र भारतका निजी क्षेत्रबीच विद्युत् खरिद–बिक्री गर्ने समझदारी यसअघि नै भइसकेको छ । ०८० वैशाखमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले काठमाडौंमा आयोजना गरेको पावर समिटमा नेपाल र भारतका निजी क्षेत्रबीच २२ सय मेगावाट विद्युत् खरिद–बिक्री गर्ने समझदारी भएको थियो । इप्पानले नै स्थापना गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)ले भारतका विभिन्न कम्पनीसँग यस्तो समझदारी गरेको थियो । 

तर, सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि लाइसेन्स नदिँदा उक्त समझदारी कार्यान्वयनमा आउन सकेको छैन । संसद्मा विचाराधीन विद्युत् विधेयकमा भने निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने प्रस्ताव छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर