एस् ए टी भी ०६ वैशाख, काठमाडौँः चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म सरकारले तीन खर्ब ६६ अर्ब नौ करोड रुपैयाँ ऋण उठाएको छ। सोही अवधिमा साँवा र ब्याज भुक्तानीमा दुई खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चैत मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड थियो। नौ महिनामा दुई खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएर कुल ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको छ।
‘चैत मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४६.७५ प्रतिशत छ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ। कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब एक अर्ब ९४ करोड र वैदेशिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड छ।
सरकारले यो आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा चैतसम्म तीन खर्ब ६६ अर्ब नौ करोड (६६.९३ प्रतिशत) उठेको छ। यसमा आन्तरिक ऋण दुई खर्ब ९१ अर्ब १४ करोड (लक्ष्यको ८८.२२ प्रतिशत) र वैदेशिक ऋण ७४ अर्ब ९५ करोड (लक्ष्यको ३४.५४ प्रतिशत) छ। सरकारले तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब वैदेशिक ऋण उठाउने लक्ष्य राखेको छ।
ऋण बढ्दै जाँदा साँवा–ब्याज भुक्तानी खर्च पनि बढेको छ। चैतसम्म ऋण सेवा खर्चमा दुई खर्ब ५२ अर्ब ४८ करोड खर्च भएको छ, जुन विनियोजित चार खर्ब दुई अर्ब ८५ करोडको ६२.६७ प्रतिशत हो। यो कुल गार्हस्थ्य उत्पादनको ४.४३ प्रतिशत हो। आन्तरिक ऋणको साँवामा एक खर्ब ७० अर्ब नौ करोड र ब्याजमा ४२ अर्ब ८४ करोड खर्च भएको छ। वैदेशिक ऋणको साँवामा ३२ अर्ब ९३ करोड र ब्याजमा छ अर्ब ६१ करोड खर्च भएको छ।
नौ महिनामा विदेशी मुद्राको विनिमय दर परिवर्तनले ७० अर्ब नौ करोड ऋण दायित्व थपिएको छ। नेपालले वैदेशिक ऋण अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येनमा लिन्छ। ‘स्पेशल ड्रइङ राइट’ (एसडिआर) को विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्व बढाएको कार्यालयले जनाएको छ।