नेभिगेसन मेनु

भारत निर्यात हुन थाल्यो नेपाली प्लाइउड
सम्पादक:南亚网络电视
समय:2025-04-17 11:34

plywood

एस् ए टी भी ०४ वैशाख, काठमाडौँः ‘ब्युरो अफ इन्डियन सर्टिफिकेट’ (बीआईएस) नवीकरणका कारण निर्यात ठप्प भएको नेपाली प्लाइउड पुनः भारत जान थालेको छ । यसअघि बीआईएस नवीकरणको निहुँ बनाएर भारतले नेपाली प्लाइउडलाई नाकामै रोकिदिएको थियो, जसका कारण निर्यात ठप्प थियो । 

यसअघि नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित स्थल भन्सारमा रोकिएको ३४ ट्रक नेपाली प्लाइउड निर्यात नभएपछि २४ दिनपछि पुनः नेपाल फर्काइएको थियो । अब भने प्लाइउड भारततर्फ निर्यात हुन थालेको छ ।

१० वटा प्लाइउड उद्योगले बीआईएस नवीकरण प्राप्त गरेपछि निर्यात सुरु भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जनाए । अहिले ६ उद्योगले प्लाइउड उत्पादन गरी भारत निर्यात गरिरहेका छन् । ४ उद्योगले दुई दिनअघि मात्रै नवीकरण प्राप्त गरेकाले तिनले पनि निर्यातको तयारी गरिरहेका छन् ।

ग्रिनसाई प्लाइउड उद्योग विराटनगर, सेन्चुरी प्लाइउड उद्योग विराटनगर, एभरेस्ट प्लाइउड उद्योग इटहरी, भुसाल प्लाइउड उद्योग बुटवल, साभारिया प्लाइउड उद्योग झापा र श्याम प्लाइउड उद्योग भैरहवाले अहिले प्लाइउड उत्पादन गरी निर्यात गरिरहेको घिमिरेले बताए । झापाका तीन प्लाइउड उद्योग (अम्बे, सञ्जीवनी र झापा प्लाइउड उद्योग) ले नवीकरण प्राप्त गरेका छन् भने दाङको गणपति प्लाइउड उद्योगले पनि नवीकरण प्राप्त गरेको छ । यीमध्ये झापाका तीन उद्योगले निर्यातको तयारी थालेका छन् भने दाङको गणपति प्लाइउड उद्योग आगलागीका कारण ठप्प रहेकाले उसले भने उत्पादन गरिरहेको छैन ।

देशभर ८० वटा प्लाइउड उद्योग स्थापना भएको प्लाइउड उत्पादक संघका अध्यक्ष घिमिरेको भनाइ छ । त्यसमध्ये भारत निर्यातका लागि ४७ उद्योगले आवेदन दिएका थिए । तीमध्ये १० वटाले प्राप्त गरे भने ३७ उद्योग प्राप्त गर्ने प्रक्रियामा छन् । नवीकरणका लागि आवेदन नदिएका उद्योगको बजार भने नेपाल नै रहेको उनले बताए ।

‘उद्योग धेरै भए पनि कोही उद्योग साना छन् भने कुनै उद्योगले उत्पादन गरेको प्लाइउड नेपाली बजारमै खपत भइरहेको छ,’ घिमिरेले भने, ‘नवीकरणका लागि आवेदन दिएका उद्योगले यसअघि पनि प्लाइउड भारत निर्यात गरिरहेका थिए ।’ भारतको तुलनामा नेपालमा उत्पादित प्लाइउडको गुणस्तर राम्रो भएको उनले जनाए । नेपाल सरकारले उचित पहलकदमी गरिदिने हो भने नवीकरण प्राप्त गर्न बाँकी ३७ उद्योगले पनि चाँडै नवीकरण प्राप्त गर्ने उनको भनाइ छ ।

‘निर्यात खुले पनि पहिलेजस्तो छैन । पहिला दिनकै ३०–४० ट्रक भारत पुग्थ्यो, अहिले दिनको ३–४ ट्रक मात्रै भारत गइरहेको छ । यद्यपि निर्यात खुल्यो । उद्योगी व्यवसायी हर्षित छौं,’ घिमिरेले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर